तालबाराहीमा व्यवसाय नगर्न राष्ट्रिय सम्पदाको खबरदारी

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले फेवातालबीचमा रहेको तालबाराही मन्दिर परिसरमा बनाइएका सटरलाई व्यवसायिक प्रयोग नगर्न ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीले तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष हिक्मत कुँवरलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

गुठीले ताल घुम्न आउने पर्यटकले पूजा गर्न खोजे फूल, प्रसाद उपलब्ध गराउन भन्दै मन्दिर परिसरमा २ सटर बनाएको छ । समितिको ध्यानाकर्षण पत्र बुझ्दै गुठीका अध्यक्ष कुँवरले सटरको संरचनालाई सुधार गरी कलात्मक बनाउने र व्यवसायिक प्रयोग नगर्ने प्रतिवद्धता जनाए ।

समितिका अध्यक्ष अधिकारीले सम्पदा संरक्षणको दायित्व सबै नागरिकको भएकाले सजग रहन सबैलाई आग्रह गरे । उनले भने, ‘फेवातालको बीचमा संरचना बनाएर आर्थिक लाभ लिने मनाशाय राखिनुले शंका उब्जिएको छ । धार्मिक, ऐतिहासिक, सांस्कृति धरोहरको संरक्षण र प्रवद्र्धनका लागि खबरदारी गर्न हामी सबै नागरिकमा अनुरोध गर्दछौं ।’

समितिका महासचिव सुनिल पाण्डेले आस्थाको धरोहर तालबाराही परिसरमै व्यवसाय गरिनु र हिमालको सौन्दर्य छेकिने गरी सटर बन्नुलाई जायज मान्नै नसकिने बताए । उनले मापदण्ड मिचेर सम्पदाको दोहन भइरहँदा सरोकारवालाहरु चूप रहनु रहस्यमय भएको टिप्पणी गरे ।

समितिका कोषाध्यक्ष ठाकुर बरालले स्थानीयको विरोध र संस्थाको खबरदारीले सम्पदाको अनुचित प्रयोग रोकिने उल्लेख गरे ।