मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्ताव पेश गरे । नेपाली मुख्यमन्त्रीमा प्रस्तावित छन् ।

नेपालीले सरकार अवैधानिक भएपछि अविश्वासको प्रस्ताव ल्याइएको जिकिर गरे । नेपालको संविधानको धारा १ सय ८८ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । नेकपा विभाजित भएपछि गुरुङले प्रदेशसभामा विश्वासको मत लिएनन् ।

कांग्रेस संसदीय दलका नेता नेपालीले संघीय र प्रदेश सरकार दुवै असंवैधानिक र अलोकतान्त्रिक बाटोमा रहेको तर्क गरे । वैशाख ६ गते
बोलाइएको प्रदेशसभाको बैठक छलेर मध्यरातमै अधिवेशन अन्त्य गरिनु प्रतिगमन भएको उनको भनाइ छ । मुख्यमन्त्रीले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि वैशाख १ गते राति संसद अधिवेशन अन्त्य गरेका थिए ।

लोकतन्त्रको कुरा गर्ने मुख्यमन्त्री संसदबाट भाग्नु अलोकतान्त्रिक र आपत्तिजनक भएको उनको भनाइ छ । उनले भने, ‘‘मुख्यमन्त्रीले धेरै लोकतन्त्रको कुरा गर्नुहुन्छ । अविश्वासको प्रस्ताव फेस गर्नुभन्दा संसद अधिवेशन नै अधिवेशन गर्नुभयो । यो अलोकतान्त्रिक हो ।’

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ सदस्य छन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ गरी २८ जनाले हस्ताक्षर गरेका छन् । वैशाख २ गते दर्ता प्रस्तावमा राजमोका सांसदको भने हस्ताक्षर छैन ।

सोमबार विशेष अधिवेशनमा नेपालीले प्रस्ताव टेबुल गरेका छन् । अब सदनमा सत्तारुढ दल समय लम्ब्याउने र विपक्षी यथाशक्य चाडो मतदान गराउने प्रयत्नमा छन् ।

१ स्वतन्त्र सांसद दीपक मनाङेको समेत साथ पाएका मुख्यमन्त्री राजमो वा सजपालाई मनाउने वा माओवादी केन्द्रकै कुनै सांसदलाई फ्लोर क्रस गराउने अन्तिम प्रयत्नमा छन् ।

फाइल फोटो