मार्क्सवाद र धर्मको फ्युजनले ल्याएको कन्फ्युजन

कसैको जन्मदिनमा “ह्याप्पी वर्थ डे”, नयाँ ब्यापार सुरु गरेमा “अल द बेस्ट”, कोही कतै यात्रामा हिडदा “शुभ यात्रा”, कसैको विवाहमा “हार्दिक बधाई र शुभकामना”, नयाँ जिम्बेबारी वा पदमा बहाल हुँदा “सफलताको शुभ-कामना” भन्ने गरिन्छ। तर नेपालका मार्क्सवादी, लेनिनवादी, भौतिकवादी कम्यूनिष्ट प्रधानमन्त्रीले राम, सीता, लक्ष्मण र हनुमानको पूजा आरती गर्दा के भनेर शुभ्-कामना दिने बिखलवन्दमा परियो। उहाले पूजा आरती पछी नमस्कार गर्नु भयो होला कि “लाल सलाम” गर्नु भयो होला? पूजा आराधना गर्दा मार्क्स, लेनिन, मनमोहन अधिकारी वा मदन भण्डारी सम्झनु भयो होला वा बाल्मिकी, भानुभक्त, वा राम रहिम सम्झनु भयो होला? उहाको सन्दर्भ सामाग्रीको रुपमा  बाल्मिकी द्दारा लिखित “रामायण” थियो होला कि मार्क्स द्दारा लिखित “पूँजी”? पूजारीको रुपमा धर्ममा आस्था राख्ने, जातिय छुवाछुतमा  विश्वास गर्ने, रुढीवादी एवं कर्मकाण्डको बिज्ञता भएको, महिला- पुरुषमा बिभेद गर्ने कथित उपल्लो जातिको बाहुन थिए होला कि कुनै दलित महिला थिईन होला?  

उहाले राम र सीताको पूजा आराधना गरी-रहदा को-कस्लाई हनुमान, सुग्रिव, अंकदा, जम्बावन/जम्वान्त (भालुका राजा), जटायु (गरुडका भतिजा), सम्पती (अरुणको छोरा, जटायुको भाइ) र विभषण (रावणको कान्छो भाइ) सम्झिए होलान? सुग्रिव सँग गरेको सम्झौता अनुसार सुग्रिवको सहयोगको बदलामा रामले सुग्रिवको भाइ किश्किन्धको राजा बली लाई मारे जसतै बलीको रुपमा कस्लाई सम्झिए  होलान?

रामायणमा बरण गरिए अनुसार रामका शत्रुहरु रावण, मेघधन/ ईन्द्रजित (राबणको जेठो छोरो),  कुम्भकर्ण (रावणको भाइ), सुप्रणखा (रावणको राक्षसनी बहिनी) र बली (सुग्रिवको दाइ तथा अंगदाको बुवा) को रुपमा को-कस्को अनुहार सम्झिनु भयो होला? प्रचन्ड वा माधव नेपालको अनुहारमा कस्लाई देख्नु भयो होला?  

कार्यकर्ता र हनुमान बिच के फरक हुन्छ होला? रामायण को भात्रृप्रेम र मार्क्सवादको वर्गिय प्रेममा कहाँ तालमेल हुन्छ होला? रामराज्य र समाजवाद उन्मुख राज्य बिच के तालमेल हुदो रहेछ?  समाजवाद सम्मको यात्रा ज्यादै जटिल, झन्झटिलो र खर्चिलो हुने हुँदा सिधै राम-राज्यको परीकल्पना पो गरियो कि? डाईरेक्ट राम-राज्यमा जादा न बेसार पानीको जोहो न अंम्वाको पातको टन्टा, सबैलाई एकै चोटि सबै भय र शोकबाट मुक्ति दिलाउने  यति बाठो र सर्ट-कट  तरिका अहिले सम्मका कम्यूनिष्ट शासकहरुले किन छुटाएका होलान? पहिले पनि भैंसी पूजा सम्म त गरेको सुनियो तर साम्यवादलाई प्रतिस्थापन गर्ने रामराज्य किन भुसुक्कै भुलेछन? 

यदि मार्क्स नेपालमा जन्मिएको भए “अतिरिक्त मुल्य” (Surplus value) सिद्धान्तको प्र्तिपादन गर्नुको सट्टा  हलो जोत्दै गरेको हलीको पछि पछि कतै फेरि सीता भेटिन्छिन कि भनी कुद्दा हुन?

आध्यात्मवादिहरुको भनाई अनुसार “जहा बिज्ञान समाप्त हुन्छ त्यहा आध्यात्म सुरु हुन्छ”। आध्यात्मसँग परआत्मा जोडीएको हुन्छ रे। यसरी हेर्दा के बिज्ञानको अन्त भएकै हो? उता नाशाले पृथ्वीबाट मंगल ग्रहमा हेलिकप्टर उडाउदै गर्दा यता हाम्राले हनुमान चालिसा पढदै गर्नु हुन्छ।  कस्तो कन्फ्युज, बिज्ञान सिद्दिएको हो कि ज्ञान सिद्दिएको हो?

कुनै धर्म वा सम्प्रदाय विश्वास गर्नु वा नगर्नु ब्यक्तिको बैयक्तिक छनोट हो। कुनै देवी देवताको पूजा गर्नु वा प्राथना गर्नु कुनै पनि मानिसको आफ्नो अधिकार हो र कुनैपनी ब्यक्तिको निजी विश्वाश वा आस्थामा टिका-टिप्पणी गर्नु हुँदैन। यदि खडग प्रसादजि ले  ब्यक्तिगत हैसियतले तेर्हथुमको आठराई, झापाको दमक, भक्तपुरको बालकोट वा कुनै निजी घर वा धार्मिक सार्वजनिक स्थानमा पूजा गरुन, भजन गाउन वा रुद्री, जपपाठ गर्नु उहाको निजी बिषय हुन। तर धर्म निरपेक्ष राष्ट्रको, कम्यूनिष्ट पार्टिको अध्यक्ष त्यो पनि जनताको कर- तिरोबाट पालित- पोषित सरकारी निवासबाट सरकारी ढुकुडी बाटै प्रसाद बनाउदा श्रीराम लाई समेत पच्दैन कि?  मार्क्सवादको  धर्ममा फ्युजनले कन्फ्युजन गराएको हुँदा यो बह पोखिएको हो।

एक पटक गाउका एक बृद्द बिरामी परी   डाक्टरकोमा जचाउन गएछन। डाक्टर  छट्टु नक्कली थियो तर उसले पैसो असुल्ल्ने मौका देख्यो। नक्कली डाक्टरले पनि बिरामीको नाडी छाम्यौ, आँखा च्यात्यो, मुख उक्कायो, बिरामिको नाकमा  औंला छिरायो, औंला थिच्यो र रोग पत्ता लागेको कुरो बतायो र पहिलेनै कागजमा पोका पारी राखेको बाख्राको बक्रीम्ला दिदै भन्यो- ल यो एक गोली राती सुतेर निदाए पछी र अर्को गोली भोली बिहान निन्द्राबाट बिउझनु अगाडि तातो पानी सँग खानु तिम्रो रोग चैट हुन्छ। बृद्ले  डक्टरलाई पैसा तिर्यो र आफ्नो रोग पत्ता लागेकोमा खुशी हुँदै घर फर्कियो। अब  औषधी खाए भने भोली ठीक हुने विश्वास साथ रातिको प्रतिक्षा गर्‍यो। राती अली छिट्टै खान खाएर तातो पानी लिएर सुत्न गयो। जव औषधी खान खोज्यो उसले डाक्टरले भनेको सम्झियो- ” राती निदाए पछी र बिहान बिउझनु अगाडि”। बृद्दलाई तवमात्र डाक्टरले ठगेको पत्ता पाए।

नेपालका कम्यूनिष्टहरु पनि भौतिकवादको बर्को भित्र कतै “आध्यात्मवाद”को ब्यापार गरेका पो गरेका त छैनन? आध्यात्मवाद आस्था र विश्वास हो र आध्यात्मवादमा ब्यापार अपराध हो। भौतिकवादमा आध्यात्मवाद कसरी मिसियो? मार्क्सवादी भौतिकवाद र पुरातन आध्यात्मवाद वा आदर्शवाद एक अर्काका विपरित धारणा वा सिद्धान्त हुन। संसारमा भएका वा हुने कुनै घट्ना वा परी-घटना, सांसारिक बस्तु र तिनिहरु बिचको अन्तर-सम्वन्धहरुलाई हेर्ने र विश्लेषण गर्ने बिलकुल भिन्न मान्यताका भौतिकवाद र आध्यात्मवादलाई खिचडी बनाउदा के सिद्धान्तको प्रतिपादन हुन्छ होला? भौतिकवादले सारा चीज भौतिक तत्वमाथि निर्भर र त्यसद्वारा निर्धारित गर्दछ भन्ने मान्यता राख्दछ। त्यसको बिपरित आदर्शवादले सबै चीज आध्यात्मिक तत्व ( आत्मा, परआत्मा) निर्भर र त्यसद्वारा निर्धारित गर्दछ भन्ने मान्यता राख्दछ। के कुनै बस्तु वा चिजको एकै पटक उही ठाउमा भौतिक उपस्थिती र अनुउपस्थिती सम्भव छ?  

के कुनै प्राकृतिक तथा सामाजिक परीघटनालाई दुई फरक फरक दृष्‍टिकोण वा धारणाबाट एउटै निर्क्यौल निकाल्न सकिन्छ? के आम जन-समुदयको अभाव, भोक,  रोग, बिपन्नता, बिभेद, अपहेलना सबै पुर्वजन्मको फल भनेर स्विकार गर्ने? अबको बाटो समाजवाद हो वा राम-राज्य हो निर्क्योल हुनु पर्दछ। यदि समाजवाद हो भने समतामुलक समाजको निर्माण तिर लाग्नु पर्‍यो वा यदी राम-राज्य हो भने आफुलाई हनुमानकरण गरी हनुमान चालिसा पढ्न सुरु गर्नु पर्‍यो। अस्पताल र अक्सिजन प्लान्ट निर्माण गर्ने  कि मन्दिर र धुप  निर्माण गर्ने तिर लाग्ने? सरकारको छनौट थाहा चाहियो।