मुक्तिनाथमा कर्मचारी मिलनकेन्द्रको निःशुल्क चियापान

दशै तथा रामनवमी पर्वको अवसरमा मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर पुगेका श्रद्धालु भक्तजनलाई निःशुल्क चिया वितरण गरिएको छ । कर्मचारी मिलनकेन्द्र मुस्ताङले विशुद्ध सामाजिक सेवाको भावले मुक्तिनाथ पुगेका भक्तजनहरुका लागि मंगलबार र बुधबार निःशुल्क चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
क्र्मचारी मिलन केन्द्र मुस्ताङले २ हजार ६ सय २५ जना श्रद्धालु भक्तजनलाई मुक्तिनाथमा निःशुल्क चिया वितरण गरेको मिलनकेन्द्रका अध्यक्ष रुक्मागत सुबेदीले जानकारी दिए ।कर्मचारीहरुको एकता र सामाजिक कार्यका लागि गठन भएको कर्मचारी मिलनकेन्द्रले मुस्ताङमा पर्यावरण संरक्षण ,धार्मिक स्थलको संरक्षणका साथै धार्मिक पुण्यकार्यमा अग्रसरता देखाएको अध्यक्ष सुबेदीले उल्लेख गरे ।
समुन्द्री सतह देखि ३८ सय मिटर अग्लो उचाईमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ पुग्ने पर्यटकलाई हाईअल्टिच्युड हुने संम्भावना र चिसो थेग्न तातो चिया वितरण कार्यक्रम राखेको जनाईएको छ । चिया वितरणका लागि मिलनकेन्द्रका एक दर्जन सदस्यहरु आवश्यक सामाग्रीसहित मुक्तिनाथ पुगेका थिए । उनीहरु आफैले चिया पकाएर मुक्तिनाथ पुगेका भक्तजनलाई चिया खुवाएका छन् । गर्मीयामको मौसम भएपनि मुस्ताङमा चिसो नघटेको र १०८ धारा र कुण्डमा स्नान गर्ने भक्तजनलाई हाईअल्टिच्युड हुने भएकाले चिया वितरण कार्यक्रम प्रभावकारी भएको कर्मचारी मिलनकेन्द्रका सचिव वृजकिशोर चौरासियाले जानकारी दिए ।
क्र्मचारी मिलनकेन्द्रको चियापान कार्यक्रमले तिर्थालुको स्वास्थ्यमा राहत पुगेको झापाकी तिर्थालु सलु दाहाल नेपालले जानकारी दिईन् । उनले राष्ट्र सेवक कर्मचारीले देश र जनताको सेवाका साथै धार्मिक कार्यमा समेत अग्रसरता देखाएको प्रति कृतज्ञता व्यक्त गरिन् ।
क्र्मचारी मिलनकेन्द्रको चियापान कार्यक्रममा टंकराज बराल ,डालेश्वर अर्याल,बृजकिशोर चौरासिया,बिमल पौडेल,कमला परियार,कमल जोशी,गंगाबहादुर थापा,प्रकाश शर्मा ,उज्वल चापागाई र ऋषिराम सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
फोटो क्याप्सन ः
मुक्तिनाथमा कर्मचारी मिलनकेन्द्र मुस्ताङको निःशुल्क चियापान कार्यक्रम । तस्विर ःबृजकिशोर चौरासिया ।