पारिजातको प्रगतिशीलताबारे विमर्श

पारिजात जयन्तीको अवसरमा पोखरामा साहित्यकार पारिजातको प्रगतिशीलताबारे विमर्श भएको छ ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखरा कास्कीले शनिबार आयोजना गरेको कार्यक्रममा पारिजातबारे विमर्श गरिएको हो । कार्यक्रममा समालोचक सञ्जीव पौडेलले पारिजात र प्रगतिशीलताबारे कार्यपत्र पेश गरे ।

पौडेलले ३० को दशकपछि पारिजातको मुख्य क्षेत्र प्रगतिवाद भएको उल्लेख गरे । उनले राल्फा आन्दोलनपछि पारिजातको जीवनदृष्टि र लेखनमा प्रगतिशीलता आएको बताए ।

पौडेलले विसंगति, निस्सारवादी लेखनबाट प्रगतिवादसम्म पुगेकी पारिजातले पुरानो आधार बिर्सिएको टिप्पणी गरे । उनले भने, ‘पारिजात निस्सारवादी, विसंगतिवादी हुँदै प्रगतिवादसम्म पुगिन् । तर बिगतलाई बिर्सिइन् ।’

कार्यक्रममा संस्थाका सल्लाहकार सरास्वती श्रेष्ठ सरुले पारिजात नेपाल वाङ्मयको चुली भएको बताइन् । कार्यपत्रमाथि लक्ष्मी थापा, अम्बिका भण्डारी, वसन्त चालिसे, विष्णु बास्तोला लगायतले प्रश्न राखेका थिए ।

कार्यक्रममा सुजन सुवेदी, कृतिका त्रिपाठी, सहनशीला पौडेल र रोशन तिमिल्सिनाले कवितावाचन गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष छन्दिका त्रिपाठीले पारिजातका कवितावाचन गरेकी थिइन् भने सचिव लक्ष्मी थापाले कार्यक्रम सञ्चालन र स्वागत उपाध्यक्ष अम्बिका भण्डारी गरेकी थिइन् ।