मुस्ताङः फुटपाथ व्यवसायीलाई कर ,छैन पूर्वाधार

जोमसोम—धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको जोमसोममा फुटपाथमा पसल थापेर व्यापार गर्ने एक दर्जन महिला व्यवसायी छन् ।उनीहरुको दैनिक जिविकोपार्जनको माध्यमनै फुटपाथमा मुस्ताङमा उत्पादित सामान बिक्री गर्नु हो । केही वर्षअघि देखि जोमसोमको धौलागिरि बोडिङ स्कुल नजिक व्यापार गर्दैआईरहेको उनीहरु यतिबेला तनाबमा छन् ।
ति महिलाहरु बिहानै उठेर सडकको एक छेउमा बसेर साझसम्म मुस्ताङको कोशेली बिक्री गर्छन् । सडक छेउ बसेर सामान बिक्री गर्ने र त्यसबाट आएको नाफाले परिवार र छोराछोरी स्कुल पढाउनु पर्ने बाध्यता उनीहरुमा छ । यसरी सडक छेउ बसेर फुटपाथको व्यापार गर्नै महिलाहरुलाई घरपझोङ गाउपालिकाले दैनिक २० रुपैयाका दरले कर उठाउने गर्छ । फुटपाथमा बस्नेहरुले महिनामा ६ सय कर स्थानीय तहलाईल तिर्छन् । तर ,स्थानीय तहले कर उठाएपनि उनीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्ने बिषयमा कुनै योजना अघि बढाएको पाईदैन् ।स्थानीय तहले अस्थायी फुटपाथ पूर्वाधार बनाउने आश्वासन दिएपनि संरचना निर्माण नहुदा उनीहरुको कमाई गर्ने माध्यम गुम्ने होकी भन्ने चिन्तामा छन् ।
केही हप्ता देखि उनीहरुले व्यवसाय गरेको स्थानमा प्रशासन र प्रहरीले अवरोध खडा गरेको छ । प्रशासन र प्रहरीले सडक छेउ फुटपाथ पसल गर्दा सडक जोखिमको संम्भावना बढेको र फुटपाथ व्यवसायीले मदिराजन्य पदार्थ खुलेआम सडकमा बिक्री गरेकाले एकैस्थानमा फुटपाथ राख्न निषेध गरेको जनाएको छ । प्रशासनले साना फुटपाथ व्यवसायीलाई बैशाख महिना सम्म बैकल्पिक व्यवस्था गर्न अल्टिमेटम दिएको छ । तर ,फुटपाथ व्यवसायीलाई घुमन्ते व्यापार गर्न रोक नलगाईने बताएको छ ।
फुटपाथ व्यवसायीहरुको टोली पटक÷पटक स्थानीय तहमा डेलिगेशन गई माग संम्वोधन गर्न अनुरोध गरेपनि वेवास्ता भएको फुटपाथ व्यवसायी रिता गुरुङले बताईन् । उनले फुटपाथ व्यवसायीलाई चाडो भन्दा चाडौ बैकल्पिक व्यवस्था गरिदिनु पर्नेमा जोड दिईन् ।यस्तै अर्की फुटपाथ व्यवसायी समिक्षा विकले फुटपाथ व्यवसायीलाई प्रहरीले दमन गरेको आरोप लगाईन् । उनले काम गरेर खाने अधिकारलाई कसैले अवरोध गर्न नहुने जनाईन् ।
बिहिबार महिला उद्यमी संघ मुस्ताङकी अध्यक्ष सुकुन रसाईलीको नेतृत्वमा फुटपाथ व्यवसायी महिलाहरुले घरपझोङ गाउपालिका र जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानआर्कषण गराएका छन् । प्रशासनले सडक छेउछाउमा पसल गर्न नपाईने बताएको छ । तर ,घरपझोङमा प्रशासन तर्फ कर्मचारी र जनप्रतिनिधि अनुउपस्थित भएकाले कुनै छलफल हुन सकेन ।
फोटो क्याप्सन ः जोमसोमका फुटपाथमा व्यापार गर्ने महिलाको प्रशासनमा डेलिगेशन । तस्विर ःसुन्दरकुमार थकाली