वर्षारम्भ नै एक महिना वर सरिसकेकोे ठहर

नयाँ वर्षको प्रारम्भ झण्डै एक महिना वर (चैत) सरिसकेकोले हालको नयाँ वर्ष मनाउनुको कुनै औचित्य नभएको एक समारोहका सहभागीहरुले औंल्याए । पर्व समय सुधार राष्ट्रिय समाज नेध्पाल गण्डकी प्रदेश समिति र विश्वम्भरा ज्योतिष विज्ञान परिषद, कास्की जिल्ला कार्य समितिको संयुक्त आयोजनामा गरिएको ज्योतिषीय अन्तक्र्रियाका सहभागीहरुले उक्त कुरा बताएका हुन् ।

विश्वम्भरा ज्योतिष विज्ञान परिषदका सह अध्यक्ष तथा समारोहका प्रमुख अतिथि दिननाथ पण्डितले २४ डिग्री अयनांश सूर्यले पार गरिसक्दा पनि पुरातन पद्धतिबाट पञ्चाङ्ग परिमार्जन नगर्नु पञ्चाङ्ग निर्णायक समितिको कमजोरी रहेको बताए । यदि पञ्चाङ्ग सुधार गर्ने हो भने हामीले मनाउँदै आएका चाडपर्व २४ दिन अघि हुनेछन् । १६ सय वर्ष अघि बराहमिहिरले शून्य अयनांश गरी संशोधन गरेको अयनांश हाल २४ डिग्री नै पुगिसकेकोले २४ दिन वर नसार्नाले चाडपर्व मनाउनुको कुनै तुक नरहेका पण्डितले बताएका छन् । अझ उनले भने, वर्तमान वैशाख महिनाको गुण जेठको जस्तो भइसकेको छ, जेठ असारजस्तो छ ।

ज्योतिषीय अन्तक्र्रिया समारोहका पर्व समय सुधार राष्ट्रिय समाज, गण्डकी प्रदेश समितिका अध्यक्ष तथा कार्यक्रम तथा प्रमुख प्रस्तोता एवम् संयोजक कल्याण पन्तले काँस, लालिगुराँस, पैंयु, आरु आदि बोटबिरुवा एक महिना अघि नै फुलि सक्छन् । यी समय बोधक वनस्पतिका वातावरणीय अवस्था र महिनाको नामाकरण अहिलेको परिपेक्ष्यमा नमिल्ने बताए । अझ उनले सचित्र आफ्नो प्रस्तुतीकरणमा देखाएर भने, पृथ्वीका ३ वटा दैनिक चाल, वार्षिक गति, ढुनमुने चालले काल खण्डमा विचलन आएको छ । यदि चैत महिनालाई वैशाख महिनाबाट गणना नगर्ने हो भने अबको १२ हजार वर्षपछि पुस माघजस्तो जाडो याममा भारी वर्षा हुने असार साउन भनिने वर्षा ऋतु हुने तर्क दिए । पन्तले महिना, ऋतु परिवर्तन भए यता चाडपर्व जस्ता सँस्कृति पनि एक महिना पछाडि मनाउनुपर्ने जिकिर गरे ।

उक्त समारोहका विशेष अतिथि तथा ज्योतिष भविष्यवाणीका सम्पादक डा. बलराम रेग्मीले वर्ष हावापानी र महिनाको नाम नमिलेको वर्तमान अवस्थामा गणित र फलित ज्योतिषी बीचको असमझदारीले केही वर्ष अघि संशोधन गर्नुपर्ने पञ्चाङ्ग हालसम्म पनि पुरातन पद्धति अँगालिराखेको बताए ।

विश्व हिन्दू महासंघका पूर्व उपाध्यक्ष वेदनिधि शर्माले विद्वानहरुको मतलाई उपेक्षा गरिएकोले चाडपर्व समेत ठीक महिना र ऋतुमा मनाउन नसकिएको बताए । ज्योतिर्विद पिताम्बर पौडेलले सत्तामा खगोल र ज्योतिषशास्त्रको मर्म नबुझ्नाले सँस्कृतिमै विचलन आएको दुःखेसो गरे । विदेशमा सूर्यसिद्धान्त अनुसार पात्रो नबनाइने हुँदा यो समस्या नरहेको तर नेपाल र भारत मात्र यस्तो समस्या आएको हो भने ।
विश्वम्भरा ज्योतिष विज्ञान परिषद, कास्की जिल्ला कार्य समितिका अध्यक्ष राजकुमार आचार्यको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विज्ञान सम्मत अयनांश र वातावरण अनुसारको महिना नसच्चाए कुनै पनि पर्व मनाउनुको तुक नभएको बताए । पर्व सुधार राष्ट्रिय समाज, गण्डकी प्रदेश समितिकी सल्लाहकार संगीता गौतम तिमिल्सिनाले संस्कृति, चाडपर्व र वातावरणीय अवस्था एक आपसमा तादाम्यता गरी सरकारले बेलैमा सम्बोधन गर्नुपर्ने बताइन् । पर्व समय सुधार राष्ट्रिय समाज नेपालले २०६४ सालदेखि प्रचलित पात्रोहरु संशोधनमा सरकारलाई झक्झकाइरहेको छ ।