सेती खोंचमा हिमाल हेर्दै बन्जी

बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरामा बनाएको बन्जीको सफल परीक्षण गरिएको छ। लेकसाइडबाट करिब ३ किलोमिटरमा रहेको बन्जी नयाँ वर्षसँगै व्यवसायिक रुपमा सञ्चालनमा आउँदै छ ।

सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल र भूपाल बहादुर बराल क्षेत्रीको ८ करोड २५ लाख लगानी छ । अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउ लगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर हाल आफ्नै साथीहरूको समूह बनाइ बन्जीमा लगानी गरेका हुन ।

क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने भट्टराईको दाबी छ।

बन्जीको २ वटा प्लेटफर्म नदी देखि १०१ र १०५ मिटरमा छन् । दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट भएको भट्टराईको दाबी छ। साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्प लगायत विशेष जम्प १०५ मिटर अग्लो प्लेटफर्म बाट गराइने अध्यक्ष भट्टराईले बताए ।

आइएसो स्टाण्डर्डमा निर्माण गरिएको भट्टराईको दाबी छ । अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी’ सँगको फ्रेन्चाइज भएकोले गो बन्जीकै प्राविधिक सहयोगमा आइ एस ओ स्ट्यान्डर्ड अनुसार तयार गरिएको भट्टराई बताउँछन् ।

एड्भेन्चर भएकोले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको भट्टराईले बताए। परीक्षणको पहिलो जम्प गो बन्जी ९बन्जी जापान०का संस्थापक बीउ रिटालिकले गरेका छन् ।

रिटालिक सँगै बन्जीको सञ्चालनको लागि जापानबाट बन्जी जापानकै जनरल म्यानेजर डेबिड पनि पोखरा आइपुगेका छन् । बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो र एसियाकै अग्लो टावर क्लाइम्बिङ सुरु गरिएको भट्टराईले बताए। बन्जी परिसरमै रेस्टुरेन्ट समेत निर्माण भएको छ ।