मालेपाटनमा हाटबजार

तरकारी खेतीका लागि प्रसिद्ध पोखरा ५ को मालेपाटनमा हाट बजार सुरु भएको छ । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले बजारको सुरुआत गरे ।

नयावर्षको अवसरमा सुरु भएको बजार मंगलबारसम्म चल्नेछ । यो हाटबजारको प्रभावकारिता, व्यापार, किसान र क्रेताको सहभागी हेरी समय समयमा यस खालका मेला लगाउने तयारी छ ।

मेयर जिसीले स्थानीय उत्पादन प्रवद्र्धन गर्न एक खालको बजार हप्तामा एक पटक लगाउनु सान्दर्भिक हुने बताए । उनले अर्गानिक र गुणस्तरीय उत्पादन भए उपभोक्ता र बजारको कमी नहुने बताए ।

महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले यस्ता प्रयासले किसान र उपभोक्ता दुवै लाभान्वित हुने सुनाए ।

सभारोहमा अग्रज किसान विश्वनाथ पराजुलीलाई सम्मान गरियो । ५० वर्षदेखि कृषिमा लागेका पराजुली यो क्षेत्रका अगुवा किसान हुन् ।

कार्यक्रममा नेकपा पोखरा ५ का अध्यक्ष विष्णु बराल, कांग्रेस पोखरा ५ का सभापति फणीन्द्र पराजुली र वडा सदस्य उज्ज्वल खत्री लगायतले बोलेका थिए ।

मालेपाटन चौरमा सुरु भएको बजारमा १२ स्टल छन् । बजारका लागि स्थल व्यवस्थापन वडा कार्यालय पोखरा ५ ले गरेको हो ।

पोखरा ५ की वडा सदस्य एवं हाट बजारकी संयोजक अञ्जु क्षेत्रीले किसानलाई सघाउन सांकेतिक रुपमा बजार सुरु गरिएको बताइन् । उनले भनिन्, ‘यो बजारको प्रभावकारिता हेरेर महिना वा १५ दिनमा एक पटक हाट, बजार लगाउनेबारे छलफल गर्छाै ।’