लयमा समयको मूर्च्छना

राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनामा चाडै र सटिक टिप्पणी गर्नेहरु आम मान्छेमा परिचित हुन्छन् । त्यस्ता परिघटनामा सिर्जनात्मक प्रतिक्रिया दिने धेरैजसो सर्जक नै हुन्छन् । यसरी नै समकालीन युगसँग संवाद गर्ने साहित्यकारमा पर्छन् लक्ष्मण थापा । अहिलेको विद्रुप समय, यसका विकृति र त्यहाँभित्रका सम्भावनासमेत चित्रित कविता सञ्चयन लिएर थापा पाठकमाझ आएका छन् ।

शनिबार पोखरेली युवा सांस्कृतिक कार्यक्रमले आयोजना गरेको कार्यक्रममा उनको कृति ‘अक्षरहरूको मूच्र्छना’ सार्वजनिक गरियो । यसअघि उनका २ गजल संग्रह र १ मुक्तक संग्रह प्रकाशित भइसकेका छन् ।

समीक्षक सञ्जीव पौडेलले थापाको कृति अहिलेको मूच्छित समयको बिम्ब भएको बताए । उनले पटक पटक परिवर्तन भएर पनि नेतृत्वको व्यक्तिकेन्द्रीत लालसाले परिवर्तन संस्थागत हुन नसकेको पक्ष कविताले उठाएको औंल्याए । उनले भने, ‘उहाँका कविताहरु अहिलेको समयका मूच्र्छना हुन् । अहिलेका समस्या, विकृति, सम्भावना, राजनीति, प्रेम, प्रकृति जस्ता विषय कविता आएका छन् ।’

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले सिर्जनालाई यथासक्य परिमार्जन गरी प्रकाशन गर्नुपर्ने विचार राखे । अमेरिकी कवि वाल्ट ह्विटम्यानको ‘लिभ्स अफ् ग्रास’ संग्रहकोे उदाहरण दिँदै उनले नेपाली साहित्यमा परिमार्जन, परिष्कार र सम्पादन पक्ष सबल बन्न नसकेको औंल्याए । उनले भने, ‘सर्जकले बारम्बार परिमार्जन गरी सुन्दर र अमर रचना दिनुपर्छ ।’

कवि तीर्थ श्रेष्ठले सर्जक आम मान्छेभन्दा पृथक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सर्जकले विषयवस्तु र प्रस्तुतिमा विशेष ध्यान दिनुपर्छ । सिर्जना गर्दा कहिले सर्वाेच्च सगरमाथा बन्छन्, कहिले सुन्दर माछापुच्छ«े बन्छन् ।’ उनले बौद्धिक जमातमा इमान्दारी नहुँदा देश र समाजअघि बढ्न नसकेको सुनाए । श्रेष्ठले भने, ‘धेरै बौद्धिकको हैसियत याचकको जस्तो देखियो । याचकहरुले देश बनाउँदैनन् ।’

साहित्यकार रमेश श्रेष्ठले कविताले भौतिक कार्य गर्न नसके पनि यसको महत्व पृथक भएको बताए । उनले भने, ‘कविताले जीवनलाई जीवन जस्तै बनाउन सक्छ । ऊर्जा दिन सक्छ ।’

प्राज्ञ हरिदेवी कोइरालाले कवि थापाले जीवनभर अक्षरको खेती गरेको बताइन् । विद्यालयमा लामो समय अध्यापन र सिर्जनामा लागेका थापा सधै अक्षरजीवी नै भएको उनको भनाइ छ । पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले सर्जक र अभियन्ता थापाको नयाँ कृतिले पाठकबाट माया पाउने बताए ।

सर्जक थापाले आफू समकालीन तथा अग्रजले दिएका प्रेरणाबाट कविता संग्रह प्रकाशन गरेको बताए । आफूले कहिले रहर, कहिले लहडमा सिर्जना गरेको उनको भनाइ छ । थापाले भने, ‘म धूलोजस्तो हूँ । धूलोको अवगुण पनि हुन्छ बिझाउने । तर चाहन्छु कसैको आँखमा नबिझाऊ । त्यस्तै सिर्जना पनि गरौं ।’

परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दीपक समीप, उपाध्यक्ष उपेन्द्र पौडेल, सचिव डा. चैतन्य अधिकारी, नवनीत साहित्य सागरका अध्यक्ष डिल्लीराम शर्मा लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।