कथा : लाहुरेको सिक्री

‘लाहुरेको सिक्री हरायो अरे !’ यो हल्ला टोल छिमेकमा मात्र सिमित रहेन । गाउँको अन्तरकुन्तर सम्म फिँजारिएयो ।
उसो त गाउँको प्रमुख विशेषता नै हो । राम्रो हल्ला होस्, या नराम्रो हल्ला होस्, । जति सक्यो छिटो, हावाको गतिमा फिँजारिने । जनहीको मुखबाट कान सम्म सञ्चार र सम्पादन हुने । ddप्रायश ः वेकामे आइमाई नै घटना विवरण अर्थात हल्लाका स्रोत बन्थे । तर यस घटनाकी स्रोत स्वयम् लाहुरेकी श्रीमती मिरा बनेकी थिई ।

कतिले कसले पायो होला भन्ने खुल्दुली जाहेर गरे ।

कतिले आजकलको महङ्गो सुन पाउनेको त भाग्य नै खुले जस्तो, चिट्ठा नै परे जस्तो भएको भाव व्यक्त गरे ।
तर केहीले भने सुन पाएको त राम्रो हुन्न भन्छन्, उल्टो आफ्नै खती हुन्छ अरे भन्ने टिप्पणी दिए ।

जे होस लाहुरेको सिक्री नै गाउँलेको वसिवियाँलो बनेको थियो । चोक चौतारो र चिया पसल मात्र नभएर मेलापाता, वनजङ्गल र पानी पँधेरामा उघ्राउने एउटा मसलेदार सन्दर्भ बनेको थियो ।

लाहुरेलाई भने सिक्री हराएकोमा खासै चिन्ता र चासो थिएन । जसका पछाडि केही रहस्य हुन सक्छ, मिराले अडकल काटेकी थिई । जुन खाले अड्कल काट्नु स्वाभाविक थियो ।

भर्खरै सुवेदारको पेन्सनमा निस्केको लाहुरेको घरयसी कामप्रति कुनै तिर्सना थिएन । जति बेला पनि भट्टिमा वास हुन्थ्यो । पेन्सन निस्कदाखेरिको एकमुष्ट रकम बैङ्कमा थियो । गाउँमा निस्कदा, हिँड्दा पनि सुकिलो मुकिलो भएर हिँड्थ्यो । अझ उसले शरीरमा छर्कन अत्तरको वास्नाले लाहुरेको परिचय प्रमाणित गर्दथ्यो ।

सम्भवत ः उसको फुर्मासी स्वभावले होला गाउँका एकथरी केटा र अधबैँशे उसँग हिँड्न रुचाउँथे । उसलाई औधी मन पराउँथे । किनकी खाजा खाएको पैसा होस्, या त पिउँदा खेरीको पैसा । लाहुरेले अरुलाई तिर्न दिँदैनथ्ये । बदलामा उसको प्रशंसा ‘मनकारी’ व्यक्तिको रुपमा हुन्थ्यो । फेरि अर्काे दिन उसकै प्रतिक्षामा बाटाभरि आँखा ओछ्याएर बस्नु तिनीहरुको नियति बन्दथ्यो ।

यसरी कति दिन चल्छ ? मेरो त जे गति र गोता होला होला । यि दुई जना छोरा छोरीको भविष्यलाई त सोच्न प¥यो नि । नेपाली लाहुरेले त कति प्रगति गरेका छन् । घर व्यवहार कति टयामटुम पारेर बसेका छन् । इन्डियन लाहुरेको चाला यस्तो हुन्छ । घर बनाएको छैन । टिनको छानो पुरानो भएर ठाउँ ठाउँमा चुहुन्छ । पेन्सनले उसैलाई ठिक्क छ, यस्ताले किन घरजम गर्नु ? किन छोरा छोरी जन्माउनु’, सोच्दा र सम्झँदा मात्र पनि मिरा भुुटभूटिन्थी । मनलाई दह्रो बनाएर विरोधको स्वर निकाल्थी, ‘एक दिन होइन, दुई दिन होइन । दिनहुँ यस्तो जडयाहा पाराले कति दिन चल्छ । अब त अति भयो । मान्छेहरुले पनि छि भन्न थाले । ल लाहुरे मान्छेको आदत बन्यो, म पनि मान्छु । तर अलिकति घरै ल्याएर खान हुन्न ! सधै सम्हालिन नसक्ने भएर, वल्लो बारमा र पल्लो बारमा ठोक्किदै आउनु पर्छ । अझ पनि समय छ सुध्रिने । सुध्रिनु भएन भने म अब सहेर बस्ने वाला छैन । बाटा धेरै छन् । जुन बाटो हिँडे् पनि आफ्नो ज्यान पाल्न सक्छु ।’

‘धेरै वकवास नगर, आफ्नो लिमिटमा बस्’, लाहुरेले मुख बिगारेर भन्थ्यो ।

‘आफु लिमिटमा बस्नुु नपर्ने । रातदिन मनपरिसँग धोकेर आउन हुने, मैले यति कुरा गर्दा बढि हुने’, मिरा दिक्दारीको पारामा भन्थी ।
‘थोडी तेरो कमाईले रक्सी खाएको छु र मैले । त्यहि पनि मैले रक्सी खाएर त तलार्इँ फाइदा नै हुन्छ क्यारे नि ।’
‘के फाइदा हुन्छ मलाई । पेन्सन र बैङ्कमा राखेको पैसा सिध्दिनु फाइदा हो ।’

‘पैसाको वात अलग हो । वात के भन्दा म रक्सी खाएर छिट्टै मरे भने पेन्सन तैले मात्र खान पाउँछेस् । फाइदा भएन त ।’
मिरालाई लाग्यो, रक्सीले शरीरमा मात्र असर गर्दो रहेनछ दिमागमा पनि असर गर्दाे रहेछ । कस्तो वचनले छेड्न सकेको ।

लाहुरेको दैनिकीबाट श्रीमती मात्र आजित र चिन्तित भएकी थिइन , त्यति कै मात्रामा आमा पनि चिन्तित थिइन । आमाले पनि बेलाबखत सम्झाउथिन, ‘हेर बाबु मुग्लानमा कति हण्डर र ठक्कर खाइस् । तेरा बाबुले सेनामा गरेको विध्नकारको दुःख बताउँदा मैले तलाई भर्ती हुन नलैजानोस भनेकी थिएँ । तर उहाँले मेरो कुरा पटक्क खानु भएन । फौजीको वर्तमान जे भए पनि भविष्य राम्रो हुन्छ । बुढेसकालमा परिवारले वसिवसि खान पाउँछन् भन्नु भयो । तैले पनि भर्ती नै हुन्छु भनेर बुबाको कुरामा सही थापिस् । पाइलो लम्काइस् । मेरो केही सिप लागेन । आज फौजको त्यो विधि कष्ट र दुःखले आर्जेको पेन्सन, किन वेपर्वाहसँग खर्चिन्छस् । किन गाउँका आवारा जङ्याहालाई पल्काउछस । यो पिउने बानी छाड्दे । र, त पनि हरे, बले, गोथे र बसन्ते जस्तो घरायसी जीवन बिता । आफ्नो परिवार सम्हालेर सही बाटो चिन । अन्तमा परिवार नै हो आफ्नो भन्नु । गाउँले त, छन गेडि सबै मेरी, छैनन गेडि सबै टेडी जस्ता हुन् । परिवारको भलो चिताएर सोच्नु जस्तो फाइदा अरु केही हुन्न ।’

आमाका हितैषी कुरा पनि उसले वेवास्ता ग¥यो । लाहुरे रक्सीमा झन लिप्त बन्यो । झन् रात छिप्पिए पछि आउन थाल्यो । मनमुटाव झिल्कोको रुपमा सम्बन्धमा सल्किदै थियो । मिराले अलि कठोर बनेर भनी, ‘अब मैले सहन सकिन । मेरो सामर्थ भन्दा तपाईको वुहार्तन असहय बन्नै गयो । ल भन्नोस्, मलाई छोड्नु हुन्छ कि रक्सी ?’

‘बरु तलाई छोड्छु । म रक्सी छोड्न सक्दिन ।’ त्यति गहन प्रश्नको जवाफ दिन उसले क्षण भर लागेन ।
एक प्रकारको रेडिमेट उत्तर जसरी सजिलै दियो । जसले मिराको मन मात्र जथाभावि
दुखेन । शरीरका सबै अङ्ग दुखे । फत्र्याफुत्रु भएर गले ।

उसो त उसले लोग्नेलाई तर्साउन र सोझ्याउन भनेकी मात्र थिई । वास्तवमा उसले लाहुरेलाई छोडेर डाँडा काट्ने कुरा सोच्न पनि सक्दैनथी । एउटा संस्कारपूर्ण खानदानमा हुर्केकी थिई । विवाह भएपछि सम्पूर्ण जीवन लोग्नेले लगाइदिएको सिन्दुरको मान्यतामा रहेर कटाउनु पर्छ भन्ने ठान्थी । अर्थात भनौ बाबुआमाले गोडा पुजेर दिएको लोग्ने नै.आफ्नो अन्तिम साससम्म हो भन्ठानेर जीवनको अर्थ लगाउँथी । त्यसैले लोग्नेलाई छाडेर माइत बस्ने सम्म सोच्नु पनि अर्थहीन ठान्थी । ठान्थी, बाह्र वर्षमा खोलो पनि फर्कन्छ भन्छन्, एक दिन त सुध्रेला नि ।

लाहुरे भने मिराको सोच भन्दा झन बाङगो बन्दै गएको थियो । रक्सीका अतिरिक्त चमेलीको प्रेमजालमा फसेको थियो । जुन वास्तविकता मिराको नजरमा परेको थिएन । एकपल्ट कसैले छ्वास्स सुनाएको थियो । आफ्नो शरीरलाई खासै वास्ता नगर्ने हुँदा एउटा चौबिस घण्टे जड्याहाले कसरी चमेली जस्तीलाई रत्याउन सक्ला ? मिराले पत्याइन । त्यसैले खासै गहिरिएर चासो पनि दिइन । मन अमिल्याइन पनि ।

तर यथार्थमा चमेली र लाहुरे एकाकार भई सकेका थिए । चमेलीको लोग्ने विदेशमा हुनु छोराछोरी केही नहुनु, असिम सुन्दर र अतिरिक्त सुपुष्ट शरीर हुनु जस्ता कारण ती दुई बिचका रसायन बनेका थिए । थप कुरा, चमेली सुन्दर मात्र नभएर लोग्ने मान्छेलाई फसाउन माहिर थिई । उसको चुम्बकिय बोली र हाँसो लोग्नेमान्छेका कमजोरी बन्न सक्थे । फसाउनका निम्ति प्रयाप्त हतियार बन्न सक्थे । आखिरमा बनेका पनि थिए । एक प्रकारको जालभित्र फसेको थियो लाहुरे ।

त्यो कस्तो जाल भने भित्र नै मनलाग्दो खान्कीको व्यवस्था गरि दिएर स्वार्थपुर्ती गर्ने । जस्तै आजकल लाहुरे भट्टीमा जानु पर्दैनथ्यो । लाहुरेका लागि मनपर्ने पेय पदार्थ चमेलीले घरमा नै ल्याएर राख्दथी । लाहुरे आएपछि सितनको जोहो गर्दथी । कहिले कुखराको त, कहिले खशीको मासु पाक्दथ्यो । अझ भनौ रक्सी र मासुको सम्बन्ध वेस्कनी झाँङ्गिएको थियो ।

एक दिन चमेलीका लोभी आँखा लाहुरेको सिक्रीमा अडिए । त्यस दिन उसले मुख फोरिन ।
भोलिपल्ट उही प्रक्रिया दोहोरिदा चमेलीले लाडिदै भनी, ‘तपाईले मलाई कति माया गर्नु हुन्छ आज म परिक्षा लिन्छु ।’
‘कस्तो वकम्पुसे कुरा गरेकी मोरी तिम्ले । मैले श्रीमतीलाई भन्दा बढी माया र विश्वास गर्छु । श्रीमतीलाई पनि नदिएको हक अधिकार तिम्लाई दिएको छु । तिम्लाई के भयो र यस्तो कुरा गरेकी कि सन्चो भएन,’ लाहुरेले चमेलीलाई आफु तिर भड्कालेर भन्यो, ‘तिम्रो मायामा खोट होला बरु, मेरो माया त साँचो र सफा छ ।’

केही क्षण सम्वाद रोकियो । शरीरले चालु प्रेम दर्शाउन दुुवै जना व्यस्त भए । ऐन मौकामा चमेलीले मुख फोरी,‘मलाई साच्चै माया मार्नु हुन्छ भने तपाईको यो सिक्रि मलाई दिनोस न । बुढालाई विदेश पठाउँदा सिक्री बेचेर खर्च हाले । पैसा पठाउँला र एउटा सिक्री बनाउँला भनेको कहिल्यै त्यति पैसा जम्मा गर्न सकिन । तीज आउन लागेको छ । दिदी बहिनी र साथीहरुका सामु लाजमर्दाे हुने भयो । अरुहरु कस्तरी गहनाले झलमल्ल बलेर हिँड्छन ।’

जोशले होस गुमाइसक्न लागेको बेला लाहुरे चमेलीको अगालोबाट छुट्टियो र, गलाको सिक्री फुकालेर दिँदै भन्यो, ‘म पनि तिम्रो लोग्ने जतिकै हुँम । तिमी मेरी कान्छी बुढी जस्तै । तिम्रो त्यो लोग्नेको के कुरा गर्छेउ । त्यही पनि गहना भनेको आइमाइलाई सुहाउने चिज हो । तिम्रो गला रित्तो पारेर मैले किन लाउनु प¥यो ।’

चमेलीले यति सजिलै उसले सिक्री देला र हात पर्ला ठानेकी थिइन । हातमा परेको सिक्री हेर्दौ छक्क परी । अनी सिक्रि सिरानी मुनी राखेर पहिले जसरी बसी । लाहुरेलाई अगालेर चुप्प म्वाई खाई । अझ कसि । अझ कसि । लाहुरेले सजिलो पार्दै शरीर मिलायो । चमेलीले आफुतर्फ खिची । केहीबेरसम्म प्रचलन दोहोरियो । हिजो अस्तीको भन्दा अलि भिन्न मिठयास् र उन्मादमा सम्बन्ध रहेको अनुभव चमेलीले गरी । जसको पछाडि चमेलीको असिमित र अपरिमित खुशीले भुमिका खेलेको थियो ।

चमेलीसँग छट्टिएर जाने बेलामा लाहुरेको मन एकतमासले धमिलियो । आफुले सिक्री चमेलीलाई दिएर गल्ती गरे जस्तो अनुभव ग¥यो । फेरि अर्काे मनले थकथक भएको मनलाई सम्झायो, धन भनेको ठूलो होइन । सबभन्दा ठूलो हो, खुशी र सन्तुष्टी । जुन कुरो मलाई चमेलीले मात्र दिन सकेकी छ ।

लाहुरेले आफ्ना अनकुलको तर्कले मनलाई बाध्यो ।

घर पुग्दा रातले आफ्नो रवाफ देखाइ सकेको थियो । खानाको आवश्यकता थिएन । पेट चमेलीले नै भरि सकेकी थिई । पेटमात्र नभएर मन पनि । त्यसैले उ भित्ता तर्फ फर्केर सुत्यो । श्रीमतीले पनि वास्ता जनाइन । आजकल अलक्क सुत्ने बानी परि सकेको थियो ।
भोलिपल्ट चिया दिँदा श्रीमतीले लोग्नेको गला नाङ्गै देखि । उसको मन त बोल्न उत्साहित थिएन । तर पनि सुनको सिक्री जस्तो कुरो । चित्त हुडलिएर आयो । कतै जाड खाएको वेसुरमा हराएन । कि कसैले वेहोसीको फाइदा उठाएर फुकालेर लिए कि । उसले शंकाको टुङ्गो लाउन चाही । र, सोधी ‘गला त रित्तो छ, सिक्री खोइ त नि ? कतै ……. ।’

मिराको सवाल नसकिदै लाहुरेले जवाफ फर्कयो, ‘खोई कता हरायो कता ।’
डेढ तोलाको सिक्री हराएको कुरा उसले यसरी बतायो कि जसको मूल्य नगन्य थियो । जसको औचित्य महत्वहीन थियो । मानौँ स्वयम् उसलाई नै घाँडो भएको थियो ।

मिराले केही बेर गन्थन गरी । व्यवहारिक पाठ सुनाई । जव उसले आँखा तान्यो । चुपचाप त्यहाँबाट हिँडी । भित्र पसी । भित्र गरेको गनथने आवाज लाहुरेले सुनेन । या त आफ्नो गल्ती बुझेर वास्ता गरेन ।

केही दिन पछि आन्तरिकता बाहिर छायो । जब चमेलीले सिक्री लगाएर बजार गएकी थिई । अरु आईमाईहरुले पनि चमेलीको गलामा लाहुरेको सिक्री देखे । कतिले भेउ पाए कि पाएनन् । तर लाउरेकी छोरा, सलिना र उसकी साथी रत्नाले भने टक्लक्क सिक्री चिने ।
‘तेरा बुबाको हराएको सिक्री जस्तो छ । लकेटमा पनि एम लेखेको छ ।’ रत्नाले सलिनाको कानमा फुस फुसाई । सलिनाले पनि मिराले लगाएको सिक्री अपलक हेरी । आफ्नै बाबुको सिक्री भएको ठम्याई । तर केही बोल्ने सामर्थ राखिन ।

‘घर गएर आमालाई भन्दे । कस्ती नकटी रहिछे अर्काको बाबुको हराएको सिक्री पाएर पनि नदिने । लाज नमानि लगाएर हिड्ने ।’ रत्नाले हलुका टिप्पणी गर्दै भनी ।

सलिनालाई भने पाएकी हो कि बाबुले नै रिझाउन चमेलीलाई दिएको हो केही भन्न सकिन । मनमनै मुर्मरिई । घर आउन बित्तिकै आमासँग भनी, ‘बाबाको सिक्री त त्यो चमेलीले लगाएर हाट बजार घुमेकी थिई ।’

आमा अलमलिई । आफ्नो कुरा आमाले विश्वास नमानेको ठानेपछि सलिनाले अलि जोड दिएर भनि ‘साच्चै हो, मैले र रत्नाले नजिकैबाट देखेका हौ । लकेटमा एम लेखेको थियो । बाबाको सिक्री पनि मैले कहिँ नचिन्ने कुरा आउँछ ।’

हुर्किसकेकी छोरीको कुरा एक त नपत्याउँनु कसरी । अर्काे, त्यही चमेलीको गलामा लोग्नेको सिक्री देखिनु । मिरालाई सब रहस्य छर्लङ्ग भयो । आफ्नो लोग्नेलाई बासनाको वंशमा पारी सिक्री हडपेको शंकामा उसलाई दुई मत लागेन । र, साँझ छिप्पिए पछि लाहुरे घर आयो । भाँडा माझ्दै गरेकी मिरालाई भन्यो, ‘म आज खाना खान्न, म सुत्न गए । मलाई नबोलाउँनु ।’

मिराको सल्किएको मन झन दन्केर बल्यो । हतपत भाँडा माझेर कोठामा छिरी । र, भित्तातिर फर्केको लोग्नेलाई घच्याउँदै भनी, ‘अर्काेलाई सताएर, पीडा दिएर ढुक्कसँग सुत्न पाइन्न । यता फर्कनोस । अघि पछिको जस्तो होइन, आज सिरियस कुरा छ ।’

‘रातीमा सिरियस कुरा गर्ने होइन । भोली उज्यालो भएपछि गर्ने । जत्रो सुकै सिरियस कुरा भए नी,’ लाहुरेले कोल्टे नझर्की भन्यो ।
मिरालाई असहय भयो । उसको विवेकले लगभग काम गर्न छाडेको थियो । रिसले सम्पूर्ण इन्द्रियमा एक प्रकारको कम्पन छुटेको थियो । वारम्वार एउटै कुराले उसको मन ढँुगिरहेको थियो, ‘बिहा गरेर ल्याएकी, कत्रो वुहार्तन खेपेर घर धानेकी श्रीमतीलाई भने वास्ता छैन । उसको गला रित्तो छ । त्यो चमेली वेश्सेले मायाको नाटक देखाई भन्दैमा सिक्री जस्तो गहना दिने ।’

जब उसको धैयता टुट्यो । लोग्नेले भने अनुसार भोलीसम्म प्रतिक्षा गर्न सकिन ।

‘तपाईँको हराएको सिक्री चमेलीको गलामा कसरी पुग्यो ? मलाई यसको जवाफ चाहियो ।’ मिराले कड्किएर भनी ।
लाहुरे आफ्नो चोरी पक्डिए जसरी हच्कियो । संकोच र भयले उसको मुखबाट वाक्य फुटेन । मिरा झन अर्धबेहोसी हालतमा बोल्दै थिई, ‘बुद्धि जति रक्सीले खाएछ । टोल छिमेकीले के भन्लान ? यो समाजले के भन्ला भन्ने त सोच्नु पर्छ । अलि कति इज्जतको हेक्का त हुनु पर्छ । पल्टनमा पाएको सुवेदारको मान त माटो मै मिलायो ।’

‘सुबेदार होइन सुइदार,’ लाहुरेले सुति सुती एउटा औलो तेसार्दै भन्यो ।

औलाले अंकित गरेको घिनलाग्दो व्यङ्ग बुझ्दै मिराले भुतभुतिदै भनी, बुद्धि जति सबै उतै राखेरे भुत्ते मान्छे मात्र पठाइदिएको रहेछ, क्याहो पल्टनले । जे मुखमा आयो त्यही बोल्ने, किरा पर्न नसकेको ।’

मिराको भनाईले लाहुरेलाई कुनै असर पार्दैन, सुतिरहयो । बाध्य भएर मिरा पनि सुति । सधै झैं एउटै खाटमा होईन, सोफामा । राती उसले सिक्री झल्काएर लोग्नेको काखमा बसेकी चमेलीलाई देखी । उसको हक अधिकार हडपेर लाहुरेलाई आफ्नो बसमा पारेको टल्टल्ती हेरिरही ।
‘कस्ता नकटा नकटी रहेछन्’ सपनामा नै टिप्पणी गरी ।

उ बिउँझिदा नरमाइलो अनुभुतिले मन मस्तिष्क कब्जा ग¥यो । बत्ति बाली । लोग्ने मस्त निदाइरहेको थियो । मनमनै सोची, ‘सिक्री हडपे जसरी कतै लोग्ने (लाहुरे) लाई पनि हडप्ने त होइन, मलाई यो उमेरमा वेसहारा बनाईदिने त होइन । त्यो राँडी चमेलीले ।’
तत्क्षण बटै दिदीले वनमा जाँदा गाएको गित टुक्का सम्झी –

काली खोला निलो पानी, भलाम खोला सेतो,
मरो माया नमान्नेलाई तरो माया के तो ।’

जति मनमनै भुतभुतिए पनि फेरि सोफा मै गएर सुती ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।