हामी आफैं साइबर अपराधी वा शिकार त भएका छैनौं ?

मोबाइल र इन्टरनेटको पहुँचले धेरै कुरा हातमै आइपुगेका छन् । छिनमै विश्वको हालखबर बुझ्न, आफन्तसँग सम्पर्क गर्न सजिलो भएको छ । ज्ञान र मनोरञ्जनमा हामी सिधै जोडिएका छौं ।

यस्ता धेरै सजिला पक्षसँगै साइबर अपराध र जंक फुडको लत पनि बढेको छ । यसबारे सचेत बनाउन परिवार र समुदाय तहमै प्रयासहरु समेत थालिएका छन् । धारापानी आमा समूह पोखरा ५ ले शनिबार जंकफुडरहित खाना तथा इन्टरनेटको दुरुपयोगका जोखिमबारे समूहका सदस्य र बालबालिकालाई प्रशिक्षण दिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले इन्टरनेटको उपयोग र नयाँ प्रविधिको प्रयो अनिवार्य भइसकेको बताइन् । उनले उपयोग अनिवार्य भए पनि दुरुपयोग र अपराधिक पक्षबारे सबै सजग हुुनपर्ने बताइन् । उनले स्वस्थ खानापान र वातावरणले जीवन नै स्वस्थ बन्ने उल्लेख गरिन् । उनले भनिन्, ‘जीवनलाई ऊर्जावान् बनाउन खानपान र जीवनयापनको भूमिका हुन्छ, यो परिवार, समाजले नै सिकाउनुपर्छ ।’

पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले आमा समूहको प्रयासमा यस खालको सान्दर्भिक कार्यक्रम हुनु प्रशंसनीय भएको बताए । प्रविधि र विज्ञानको प्रयोग अनिवार्य भएको उल्लेख गर्दै उनले आउन सक्ने विकृति रोक्न सामूहिक प्रयास जरुरी हुने बताए ।

पोखरा ५ की वडा सदस्य अञ्जु केसीले कोरोना कहरपछि इन्टरनेटमा बालबालिकाको बढी समय बित्ने गरेको र त्यो लत बनेको उल्लेख गर्दै उनीहरुले के गरिरहेका छन् भनी अभिभावले चासो राख्नुपर्ने बताइन् ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले साइबर अपराधका प्रकृति र जोगिनु उपायबारे प्रकाश पारिन् । पूर्व प्राध्यापक महेन्द्रमान व्यथितले जंगफुडका अवगुण र स्वस्थ आहारबारे प्रकाश पारे ।

समूहका अध्यक्ष कल्पना भुवाजीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मिरा केसी र उपाध्यक्ष सरिता अधिकारीले पनि बोलेका थिए ।