माझठानामा शिविर, ३२५ को सित्तैमा जाँच

पोखरा २८ माझठानामा निशुल्क शिविर भएको छ । बिहानी बचत तथा ऋण सहकारीले ग्यालेक्सी हस्पिटल पोखरा १० को प्राविधिक सहयोगमा शनिबार शिविरमा ३ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ ।

शिविरका लागि पोखरा महानगरपालिका वडा नंं २८ र रत्न शोभा माध्यमिक विद्यालयले विशेष सहयोग गरेका थिए । शिविरमा प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, बाल तथा नवजात शिशु, मनोरोग, नाक, कान घाँटी, जनरल फिजिसियन लगायतका समस्याको चिकित्सकहरुले निदान गरेका थिए । सर्वसाधारणको स्वास्थ्य जाँचसहित औषधीसमेत सित्तैमा उपलब्ध गराइएको सहकारीका अध्यक्ष धर्मराज भण्डारीले बताए ।

कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले स्वस्थ नागरिक नै समृद्ध समाजको मुख्य आधार भएको बताए । उनले स्थानीय सरकारहरु जनताका आकांक्षा पूरा गर्न लागिरहेको बताए । पोखरा २८ लाई महानगरको प्रत्याभूति दिने गरी पूर्वाधार निर्माण र विकास, निर्माणमा आफूहरु क्रियाशील भएको उनको भनाइ छ ।

कार्यक्रममा रत्नशोभा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन गुरुङ, ग्यालेक्सी हस्पिटलका सञ्चालक दीपेन थापा र महेशकुमार सिग्देल, सहकारीका सचिव सुजनबाबु अधिकारी, कार्यक्रम संयोजक यज्ञप्रसाद तिवारी, कार्यकारी प्रमुख अनुप पौडेल लगायतले बोलेका थिए ।