नारी प्रतिभा वाङ्मयमा नयाँ समिति

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको शनिबार भएको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले छन्दिका त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।

समितिको उपाध्यक्षमा अम्बिका भण्डारी, सचिव लक्ष्मी थापा र कोषाध्यक्ष चन्द्रावती वाग्ले र सदस्यमा रमा परासर, प्रतिभा न्यौपाने, रीता न्यौपाने, लीला पण्डित, ओमकुमारी आचार्य र अनिषा बराल छन् ।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सरस्वती श्रेष्ठ ‘सरु’ले पोखरा साहित्यको राजधानी भएको बताइन् । उनले नारी साहित्यकारहरु नेपाल साहित्यमा हस्तक्षेपकारी भूमिकाका साथ अघि बढिरहेको बताइन् । डब्लुडब्लुजे गण्डकी प्रदेश समिति अध्यक्ष सरिता तिम्सिना पगेनीले नारी प्रतिभाले साहित्यमार्फत समाज परिवर्तनमा योगदान गर्नुपर्ने विचार राखिन् ।

प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको सभामा सचिवको प्रतिवेदन संस्थाका सचिव लक्ष्मी थापाले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा साहित्यकार रमा खतिवडा, अम्बिका भण्डारी, रीता न्यौपाने, रमा परासर, प्रतिभा शर्मा, लीला पण्डित लगायतले रचनावाचन गरेका थिए ।