प्रस्याङमा असारभित्रै नमुना बगैचा पार्क

पोखरा महानगरपालिका वडा नं ५ को प्रस्याङमा करिब १ करोड लागतमा ‘प्रस्याङ बगैचा पार्क’ बन्ने भएको छ ।

पार्कलाई सौन्दर्यकरण तथ भौतिक संरचना निर्माण बुधबार गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सुरुआत गरे । उनले प्रदेश सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताए ।

मन्त्री बस्नेतले प्रदेशको हितमा भौतिक पूर्वाधार निर्माणमा मन्त्रालय दत्तचित्त रहेको बताए । आगामी असारसम्म यहाँ सुन्दर पार्क बनिसक्ने उनको भनाइ छ ।

प्रदेश सांसद् राजीव पहारीले पछिल्लो कालमा द्रूत गतिमा विकासका काम भइरहेको बताए । उनले प्रस्याङ बगैचा पार्कलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

पोखरा ५ की कार्यवाहक वडाध्यक्ष अञ्जु क्षेत्रीले प्रस्याङ बगैचा पार्कलाई गण्डकी प्रदेशकै नमुना बनाउने प्रण गरिन् । राजमार्गकै छेउमा र सहरको मध्य भागमा रहेको पार्क अनेक दृष्टि उपयोगी हुने उनको भनाइ छ । पार्क संचालन समिति संयोजकसमेत रहेकी क्षेत्रीले भनिन्, यो पार्क निकै महत्वपूर्ण छ । पार्क वातावरण संरक्षण, मनोरञ्जन, विश्राम र भूकम्प जस्ता विपद् आउँदा पनि उपयोगी हुन्छ ।

भवन तथा सहरी विकास कार्यालयको ८५ लाख १६ हजार ५ सय २६ रुपैयाबाट पार्क निर्माण गर्न लागिएको हो । कार्यालय प्रमुख महेन्द्र बाँनियाले पार्कमा बालबालिका खेल्ने चिप्लेटी, चाकाचुली निर्माणदेखि फुटपाथमा बत्ती राखिने बताए ।

प्रवेशद्वारमा टिकट काउन्टर, कफी हाउस, क्यान्टिन, बस्ने कुर्चीसहितका प्रतीक्षालय बनाउने योजना छ ।

कार्यक्रममा वडा सदस्य उज्ज्वल खत्री र शिक्षासेवी हेरम्बप्रसाद कोइरालाले पनि बोलेका थिए ।