फेरि विघटन गरेर चुनावमा जाऔं : प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा फेरि संसद विघटन हुने संकेत मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संसदले काम गर्न नसकेको र विघटन हुन सक्ने बताउनु र राष्ट्रपति विद्यादेवी भण्डारीले चुनाव लोकतान्त्रिक प्रक्रिया भएको टिप्पणी गर्नु गरेका थिए ।
प्रधानमन्त्री र राष्ट्रपतिका यस्ता अभिव्यक्तिले फेरि प्रतिनिधिसभा विघटन हुने संकेत मिलेको नेताहरुले बताएका छन् । चियापानमा प्रधानमन्त्रीले भनेका थिए, ‘स्थापित प्रतिनिधिसभाले काम गर्ला जस्तो छैन । अब फेरि विघटन गरेर चुनावमा जाऊँ । त्यसका लागि सबै छलफल गरौं ।’

प्रधानमन्त्रीले संसद चल्न नसकेकाले फेरि विघटन गरौं भन्नु र राष्ट्रपतिले चुनाव लोकतान्त्रिक प्रक्रिया भएको बताउनुले फेरि संसद भंग हुने संकेत

कांग्रेस नेता रामचन्द्र पौडेलले संविधान मिच्नका लागि सल्लाह नहुने भन्दै प्रतिवाद गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको भनाइ अप्रिय भएको भन्दै अहिले यस विषयमा छलफल नगर्ने बताए ।

चियापानमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिले उठ्ने बेलामा चुनावको संकेत गरेकी थिइन् । ती नेताले भने, ‘चुनाव गर्दा के हुन्छ ? चुनाव त लोकतन्त्र हो भनेर भन्नुभयो । उहाँको यो भनाइ निकै खतरनाक लागेको छ ।’