कविता : कुकुरदेखि सावधान !

शरीर निथ्रुक्क
भिजेको थियो
जब म बिउँझिएँ
मुटुको धड्कन
समयको गतिभन्दा द्रुत थियो
मानौं म
सय मिटरको
दौड प्रतियोगितामा थिएँ
सपनामा
यत्र, तत्र, सर्वत्र
छरिएका थिए
छाउराहरु
केहि छाउराहरुले
चपाइरहेका थिए
पत्रकारका औलाहरु
केहि छाउराहरुले
चाटिरहेका थिए
अदालतकै आँगनमा
न्याय मुर्तीका मस्तिष्कहरु
केहि छाउराहरुले
लुछिरहेका थिए
माइतीघरतिर
बढेका पैतालाहरु
केहि छाउराहरुले
चुसिरहेका थिए
नागरिकका नलिहाडहरु
केहि छाउराहरुले
चिथोरिरहेका थिए
बिध्यालयबाट फर्किदै गरेका
बिध्यार्थीका आँखाहरु
यी दृश्य
देखेर रमाईरहेका थिए
बार्दलीमा केहि
मुर्कट्टाहरु
भाग्दाभाग्दै
केहि हुल मान्छेहरुसँग
म बालुवाटार
३ नम्बर गेट पुगेर
टक्क रोकिन्छु
जहाँ टाँसिएको थियो
कुकुरदेखि सावधान १