जित र जेनिसलाई ब्याडमिन्टन उपाधि

प्रथम विमल शेरचन स्मृति नेपाल थकाली पुरुष डबल्स् खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बागलुङको वुर्तिवाङ क्षेत्रबाट सहभागी जितबहादुर शेरचन र जेनिस शेरचनको जोडीले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा जितबहादुर र जेनीसले थासाङ युथ क्लब काठमाडौंको टिममा सहभागी बलबहादुर शेरचन र गोकुल शेरचनको जोडीलाई सोझो सेटमा पराजित गर्र्दै उपाधि जितेको हो । थकाली सेवा समिति पोखरा थासाङ युवा परिवारको थकाली युथ ब्याडमिन्टन ग्रुपको आयोजनामा शुक्रबार पोखरामा भएको प्रतियोगितामा पोखराको घरेलु टिममा सहभागी विपिन गौचन र रिजन शेरचनको जोडी तथा थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति काठमाडौंबाट सहभागी खेलाडी रवीन्द्र शेरचन र ड्रोन गौचनको जोडीले तेस्रो स्थानमा रहन सफल भएको हो ।

विजेता टोलीलाई ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुने दुवै टोलीलाई जनही १० हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ । विजयी खेलाडीको टोलीलाई थकाली सेवा समितिका केन्द्रीय अध्यक्ष सोमप्रसाद तुलाचन, थकाली सेवा समितिका क्षेत्रीय अध्यक्ष शिवशंकर गौचन, ग्रुपका अध्यक्ष अशोक शेरचन लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा पोखरासहित काठमाण्डौं, वुटवल, वेनी, बुर्तीवाङ, मुस्ताङ लगायतबाट २२ टिमको सहभागिता रहेको ग्रुपका सचिव एवं प्रतियोगिता संयोजक श्याम शेरचन (सोल्टी) ले बताए ।