एमालेमा लागेकालाई माओवादीले सांसद हटाए माथिल्लो सम्मान : ज्ञवाली

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार २३ माओवादी नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

आफू पक्षीय केन्द्रीय समितिको विशेष बैठकबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा लगायतलाई उनले महत्वपूर्ण जिम्मेवारी दिएका छन् । ओलीले माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् ।

एमाले केन्द्रीय सदस्य बनेपछि माओवादी केन्द्रबाट सांसद जितेकाहरु कारवाहीमा पर्ने निश्चित छ । यो अवस्थामा उनीहरुलाई त्यसको क्षतिपूर्ति र उच्च सम्मान दिने एमालेको तयारी छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवाली ठूलो जोखिम मोलेर आएरका माओवादी नेताहरुलाई यथासक्य पार्टीले साथ दिने बताउँछन् । उनी भन्छन्, ‘उहाँहरु मानसिकरुमा नै तयार भएर यो आन्दोलनमा, यस धारमा जोडिँदा यस किसिमको जोखिम उठाउन बुझेरै आउनु भएको हो । उहाँहरुको त्यो साहासलाई सलाम छ । उहाँहरुलाई कानुनी झमेला पर्न नदिनका लागि पार्टीका तर्फबाट सबै प्रयासहरु हुन्छ । र केहि नोक्सान भयो भने पनि त्यसको क्षतिपुर्ती र माथिल्लोस्तरको सम्मान हुन्छ ।’

माधव नेपाल समूह भने शुक्रबारको बैठकमा सामेल थिएन । यो समूहले अब देशभर समानान्तर कमिटी बनाउने चेतावनी दिएको छ ।