ओलीसँगको एकता सकियो : बामदेव

एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँगको एकता सकिएको प्रतिक्रिया दिएका छन् । ओलीले आफू पक्षका केन्द्रीय कमिटी सदस्यको मात्रै बैठकबाट पार्टीको दशौं महाधिवेशन तोक्नेदेखि निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसेपछि बामदेवको यस्तो भनाइ आएको हो ।

उनले भने, अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्छौं ।

ओली पक्षको बैठकले माओवादी छोडेर एमालेमा लगेका नेताहरूलाई एमालेमा जिम्मेवारी दिने र माधवकुमार नेपाल पक्षमा रहेका निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेको हो । उपाध्यक्ष गौतमले यो कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नै नसक्ने, गर्नै नहुने काम भएको बताए । उनले भने, यसलाई मैले चरम अराजकताको नमूना ठान्छु ।

उनले ओलीसित कम्युनिस्ट पार्टीको सिद्धान्त र नीति नरहेकाले उनी कम्युनिस्ट हुन नसक्ने दाबी गरे । गौतमले भने, यो मध्ययुगीन सामन्तवादको अवस्था हो जहाँ राजाले जे बोल्यो त्यै कानुन हुन्थ्यो । अहिले केपी ओलीले जे बोल्यो त्यै कानुन हुने अवस्था सिर्जना भएको छ ।

दशौं महाधिवेशन नहुने दाबी गर्दै उनले अब केपी ‌ओलीसँगको एकता त समाप्तै भएको बताए । उनले भने, अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्छौं ।