पार्टीको नाम फेर्दै माओवादी केन्द्र

फागुन २३ बाट पुरानै स्वरुपमा फर्केको नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ।

पार्टीको नाम फेर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी समिति अधिकांश सदस्य सहमत भएका छन् । बुधबार बसेको स्थायी समिति बैठकमा पार्टीको नाम फेर्ने विषयमा छलफल भएको हो ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीपछि केही फुर्काे जोड्नेबारे छलफल भइरहेको छ ।

अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पछिल्लो पुस्ता, बौद्धिक वर्ग र अन्य कम्युनिस्ट पार्टीका सदस्यलाई आकर्षित गर्न नाम फेर्न लागिएको हो ।

‘अन्य पार्टीमा रहेका, स्वतन्त्र भएर बसेकाहरुलाई माओवादी बन्न नपर्ने गरी आफ्नो पार्टीमा आउने वातावरण तयार गर्न पनि नाम परिवर्तन गरेर जानुपर्ने सुझाव आएको’ स्थायी समिति सदस्य कृष्णबहादुर महराले बताए ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अनेकौँ टुटफुटको शृंखलापछि यो अवस्थामा आएको हो ।