कविता : म झोले होइन

मानव मुक्तिको झण्डा बोक्ने
म महामानव हुँ
जीवन र जगतको व्याख्या गर्नसक्ने
म एक दार्शनिक हुँ
परिवर्तनको संवाहक
सामाजिक अभियन्ता हुँ
म समाजसेवी
कानूनी पालक राजनीति विश्लेषक
म मै हुँ
म जे सोच्छु ठिक सोच्छु
मेरो बिचार सत्य बिचार
मेरो निर्णय सहि निर्णय
अनि, मेरो दृष्टिकोण मा
प्रश्न उठाउने तिमी को हौ ?
होला
हिजोसम्म उ नाटकी थियो
एक नम्बरको नौटंकी थियो
दुनियाँको सबसे कट्टर दुश्मन थियो
हुन पनि उ साँच्चै खराबै थियो
त्यसबेला उसको भण्डाफोर गरेकै हुँ
तल्लो दर्जाको गाली गलौजमा झरेकै हुँ
भनिन्छ नि,
मान्छे बिग्रनु र सप्रनु कत्ति बेर लाग्दैन
हिजोको त्यो नाकामा पत्रु
अलि अघिसम्मको खुङ्खार दुश्मन
ठिक दुई घन्टा अघि मात्र
सर्लक्कै सप्रियो
साच्चै उहाँ त महान मान्छे
श्रद्धा योग्य आदरणीय मान्छे
यस्तो महान मान्छेलाई
शिर निहुँराइ प्रणाम गरें त के भो ?
मेरो बिरुद्ध औंला उठाउने तिमी को हौ ?
मेरो जीवन मेरो शैली
मेरो विचार, मेरो दृस्ठिकोण
शाश्वत सत्य मेरो निर्णय
अनि मेरो निर्णयमा विमति ?
तिम्रो हैसियत के ?
म त उहाँको दासी हुँ दासी
मलाइ यसैमा गर्ब छ
म हनुमान हुँ, झोले होइन
म यति भन्न चाहन्छु
उहाँको हनुमान बन्न चाहन्छु ।