मान्छे थपे समानान्तर कमिटी : नेपाल, खनाल

नेकपा एमालेको माधव नेपाल पक्षले एमालेलाई पूर्ववत् रुपमै सञ्चालन गर्न माग गरेको छ । एकतापूर्व ३८ भन्दा बढी जिल्ला कमिटीको नेतृत्व माधव नेपालको पक्षमा थियो ।

माओवादीसँग एकीकरणअघिकै पार्टी संरचना क्रियाशील गराउनुपर्ने यो पक्षको माग छ । बुधबार भएको केन्द्रीय सदस्यहरूको भेलामा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय बैठकमा पार्टीको साविककै संरचनालाई यथावत् राख्न दबाब दिने नेपाल पक्षले निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रबाट प्रधानमन्त्री ओलीलाई साथ दिएका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, लगायतलाई समायोजन गरी पदाधिकारीमा ल्याउने नेपाल पक्षले अस्वीकार गर्ने भएको छ । केन्द्रीय सदस्य यज्ञराज सुनुवारले आफूहरुलाई हिनताबोध गराउने प्रयास भइरहेको दाबी गरे ।

छलफलका सहभागीले पार्टी मुख्यालय धुम्बाराहीमा हुने बैठकमा जानुपर्ने तर बालुवाटार जान नहुने विचार राखेका थिए ।