मुस्ताङमा ३११ ज्येष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप

हिमाली जिल्ला मुस्ताङमा आईतबार ३११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले दोश्रो चरणको कोरोना विरुद्धको खोप लगाउने अभियान अन्र्तगत मुस्ताङको घरपझोङ र थासाङ गाउपालिकामा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
सरकारले दोश्रो चरणको खोप अभियान अन्र्तगत खोप अभावले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मात्र खोप लगाउने बताएपनि मुस्ताङमा खोप मौजाद रहने भएकाले ५५ वर्ष उमेर माथिकालाई पनि खोप अभियानमा सामेल गराएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङ अनुसार खोप अभियानको पहिलो दिन मुस्ताङमा पुरुष १७० जना र महिला १४१ जनाले कोरोना बिरुद्ध खोप लगाएका हुन् । जसअन्र्तगत मुस्ताङको थासाङ गाउँपालिकाको वडा—५ को कुञ्जो स्वास्थ्य चौकीमा ५० जना ,थासाङ वडा—३ लेते प्राथमिक स्वास्थ्य चौकीमा ७१ ,थासाङ—२ कोवाङ स्वास्थ्य चौकीमा ६३ र थासाङ—१ टुकुचे स्वास्थ्य चौकीमा ३० जना ज्येष्ठ नागरिकले कोरोना बिरुद्ध खोप लगाएका छन् । यस्तै ,मुस्ताङको घरपझोङ गाउँपालिकाको जिल्ला अस्पताल जोमसोम केन्द्रमा ९७ जनाले खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दोश्रो चरणको खोप अभियानको समय तालिका तय गरेको जनाएको छ । दोश्रो चरणको खोप तालिका अनुसार मुस्ताङको थासाङमा २३ गते देखि २६ गतेसम्म र मुस्ताङको घरपझोङमा २३ गते देखि २८ गतेसम्म खोप अभियान संञ्चालन गरिने छ ।यस्तै पहिलो चरणको खोप अभियानमा छुटेका स्वास्थ्यकर्र्मी,कर्मचारी,जनप्रतिनिधि,बैक तथा वित्तिय संस्थाका कर्मचारी,पत्रकार र सुरक्षाकर्मी लगायतलाई समावेश गरिने भएको छ ।
मुस्ताङको तल्लो क्षेत्रमा पर्ने दुई स्थानीय तहमा खोप केन्द्र तोकिएपनि उपल्लो मुस्ताङको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कुनै केन्द्र तोकिएको छैन । दोश्रो चरणको खोप अभियानमा पनि उपल्लो भेकमा खोप केन्द्र नहुँदा त्यहाँका ज्येष्ठ नागरिकले मुस्ताङको जोमसोम आई खोप लगाउनु पर्ने बाध्यता रहेको छ ।जोमसोम देखि उपल्लो मुस्ताङको दुरी एक सय किलोमिटर टाढा छ ।
सरकारले दोश्रो चरणको कोरोना बिरुद्धको खोप अभियानमा ६५ वर्ष माथिका १७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । यस्तै गण्डकी प्रदेश ११ जिल्लामा १ लाख ३४ हजार बढी ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य रहेको जनाईएको छ ।