डेन्टल साइन्स हाइजेनिस्टको साधारणसभा

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकी प्रदेशको प्रथम साधारणसभा शनिबार भएको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डा. भवानी शंकर पौडेलले डेन्टल हाइजेनिस्टहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले समय र नीतिमा आएको परिवर्तनसँगै संस्था र पेशालाई परिमार्जन र उचित नीति बनाउन संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संस्थाका कानुनी सल्लाहकार यामनाथ पौडेलले संस्था सञ्चालन गर्न योजना, लक्ष्य र कार्ययोजना चाहिने बताए । उनले मानिसको जीवनशैलीका कारण डेन्टल हाइजेनिस्टको माग अझै बढ्ने बताए । कान्तिपुर डेन्टल हस्पिटलकी प्रशासकीय प्रमुख सीता श्रेष्ठले दक्षता हासिल गरेको जनशक्तिले सेवासँगै सामाजिक उत्तरदायित्व र पेशागत हितका लागि पनि काम गर्नुपर्ने बताइन् ।

सभामा अध्यक्ष सुवास सुवेदीले संस्थाको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष रुद्र ढकालले आर्थिक प्रतिवेदन पेश गरे ।

संस्थाका महासचिव युवराज पौडेलले ३ तहका सरकार बनेपछि बदलिएको परिस्थितिमा उचित नीति निर्माणका लागि संस्थाले पहल गरिरहेको बताए । उनले गण्डकी प्रदेशका डेन्टल हाइजेनिस्टलाई एकतावद्ध गरी पेशासँगै सचेतना र सामाजिक काम गर्ने संस्थाको लक्ष्य भएको उल्लेख गरे ।