घूस फालेर पालिका अध्यक्ष फरार

भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उनी उक्त रकम छोडेर भागेका छन् ।

सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ । घूस रकम लिएर भाग्दै गरेको प्र।२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेश कार्यालयका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले पिछा गरेको थाहा पाएपछि अध्यक्ष क्षेत्रीले घूस बापत लिएको रकम छिरेश्वर नगरपालिका–५ को बाटोमा छोडेर भागेको पनि आयोगले जनाएको छ ।

घूस रकमसहित पक्राउ गर्न गएको अख्तियारको टोलीले प्रहरीलाई खबर गरे पनि अध्यक्ष क्षेत्री भने अझै फरार रहेका छन् । स्थानीयले अध्यक्ष क्षेत्रीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाल समाचारपत्र