फेवातालको विवरण नेपाल राजपत्रमा

पोखरा फेवातालको चारकिल्ला र सीमानासम्बन्धी विवरणसहित पहिलोपल्ट नेपाल राजपत्रमा सूचना प्रकाशित भएको छ ।

नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा फागुन १७ गते प्रकाशित उक्त राजपत्रमा फेवातालको चारकिल्ला विवरण तथा सीमारेखाको व्याख्यासमेत गरी फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा तोकिएको छ । चारकिल्लामा पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौदी चंखपुर दम्किलो र दक्षिणमा चिसापानी रानी वन कायम गर्नेसमेत उल्लेख गरिएको छ ।

राजपत्रमा फेवातालको अक्षांश र देशान्तरसहितको नक्सासमेत प्रकाशित गरिएको छ । फेवातालको दीर्घकालीन संरक्षण र संवद्र्धनमा यस सूचनाले सरकारका सबै निकायलाई औपचारिक तवरबाट अघि बढ्न कानुनी बाटो खुला भएको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले जानकारी छ ।

यसैगरी फेवातालको चारकिल्ला निर्धारण सीमांकन तथा नक्सांकन समितिले १८ फागुनमा पोखरा महानगरपालिकालाई मापदण्ड कायम गरी फेवातालको दीर्घकालीन संरक्षणमा ध्यान दिन निर्देशनसमेत गरेको छ ।

यसअघि बिभिन्न निकायबाट तय भएका मापदण्ड, सर्वोच्च अदालतको फैसला, प्राकृतिक न्यायको सिद्धान्त लगायतका विषयलाई समेत ध्यान दिई प्रचलित ऐन, कानुन बमोजिम मापदण्ड तय गरी फेवातालको संरक्षण गर्नका लागि सरकारबाट पारित भएको नक्सासमेत उपलब्ध गराएको छ ।

समितिले गण्डकी प्रदेशलाई फेवातालभित्र परेका कित्ता जग्गा के कसरी कुन प्रक्रियाबाट दर्ता हुन गए, के कस्तो प्रकृतिका जग्गा छन् यथार्थ विवरण तयार गर्ने तथा दुषित दर्ता भएका जग्गाको लगत तयार गर्ने र त्यस्ता जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्नका लागि मालपोत बिभागका निर्देशक गुरूदत्त सुवेदीको नेतृत्वमा ५ सदस्यीय उपसमितिसमेत गठन गरेको छ ।

समितिले फेवातालको सौन्दर्य र गरिमा यथावत कायम राख्न, फेवाताल जलाधार क्षेत्रको दीर्घकालीन संरक्षण एवं विकासका लागि बृहत्तर गुरुयोजना तयार गर्ने सम्बन्धमा कार्य क्षेत्रगत शर्त तयार गर्नका निमित्त रुपाताल आयोजनाका प्रमुख तुलसीराम भट्टराई, सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख किरण आचार्य तथा समिति सदस्य केदार बरालको रहेको उपसमिति गठन गरेको छ ।

फेवाताल चारकिल्ला निर्धारण सीमांकन तथा नक्सांकन समितिले फेवातालको अध्ययन प्रतिवेदन नेपाल सरकारलाई फागुन २ गते बुझाएको थियो भने फागुन ४ मा मन्त्रिपरिषदमा पेश भएको थियो । मन्त्रिपरिषदले फागुन ११ गते सो विषयमा निर्णय गरेको हो । Rss