प्राडा बुद्धिलाई तनहुँ रत्न पुरस्कार

तनहुँ रत्न पुरस्कारबाट पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई सम्मान गरिएको छ । तनहुँ सम्पर्क समाज पोखराको १९ औं स्थापना दिवसको अवसरमा बिहीबार थापालाई ताम्रपत्र, नगद १० हजार र दोसल्लासहित सम्मान गरिएको हो ।

समाजका पूर्व अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा उपाध्यक्ष भुवन पराजुली काफ्ले र सदस्य भीम रानाभाट रहेको पुरस्कार छनौट समितिले थापालाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

उपकुलपति थापाले समाजको सम्मानले सामाजिक कार्यमा हौसला बढाएको बताए । समाजले के दियो होइन, समाजलाई के दिन सक्छु भन्ने मान्यताले लगनशील भएर लाग्ने उनले प्रतिवद्धता गरे । सबैको माया, साथ र सम्मानले संघर्षका दिन बिर्सेर सामाज एवं सामाजिक काममा खटिएको उनले बताए ।

कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु चन्द्रविक्रम अधिकारी, मुरलीमोहन काफ्ले र ईश्वरप्रसाद सुवेदी, सल्लाहकार नीलकण्ठ शर्मा, श्रीकान्त शर्मा खतिवडा लगायतले समाजले गर्ने सामाजिक गतिविधिबाटै व्यक्तिको पनि पहिचान स्थापित हुने बताए ।
समाजले हरेक वर्ष स्थापना दिवसको अवसरमा स्थायी ठेगाना तनहुँ भई हाल पोखरालाई कार्यथलो बनाएर विभिन्न विधामा क्रियाशील व्यक्तित्वलाई यो पुरस्कार दिने अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले जानकारी दिए ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष तथा पुरस्कार छनौट समिति संयोजक शिवराज पौडेलले पुरस्कृत प्रतिभाको परिचय दिएका थिए । कार्यक्रमाम समाजका वरिष्ठ उपाध्यक्ष भरत केसी र महासचिव यामबहादुर सुर्खालीले पनि बोलेका थिए ।