कविता : उच्चाकांक्षा र जिजीविषा

जब कुनै सङ्गठनको
सङ्गठित हुने आत्मबल
हुत्तिएर पर पुग्छ
खन्ड विखन्ड भएर
पर छरपस्टिन्छ्न् त्यसका टुक्राहरू
पाइलाहरू बालुवै बालुवाले
पुरिएको सडकमा हराउन पुग्छन्
त्यहिबेला,
ठुलो पहिरो जान्छ छातीमा
उसको जिजीविषाको
अनैतिकताहरूले
नैतिकताको डमरू बजाएको देख्दा
उच्चाकाङ्क्षाहरूले जिजीविषालाई
पछारेको देख्दा
एउटा क्रान्ति बोक्न चाहेको
जिजीविषाले
टेबलमाथिका नियमहरू
उलङ्घित भएको देख्दा
उसको छाती थर्किन्छ
विभत्स भुँइचालोले
एउटै साङ्गठनिक परिवारमा
धेरै ठाउँ
आ- आफ्नो रोटी सेक्ने आशयले
ग्रेट वालजस्तो पर्खाल
ठड्याइएको छ
त्यही पर्खालमाथि अन्तिम जिजीविषा
पर्खिबसेको छ
जनमतको समर्थनमा
त्यो पर्खाल भाच्न।
पोस्टर बनिएर जिजीविषा
भित्ता भित्तामा टाँगिन पुग्छ
सावधान, सावधान को नारा लगाउँछ
शङ्काले
आफ्नो अस्तित्वलाई
नचिमोटोस् भन्ने
सन्देश दिँदै
ऊ घोषणा गर्छ
छुनै नसक्ने गरी अग्लिन चाहनु पनि
ठिक होइन
भाँचिन सक्छ उत्रिदाँ सिँढी।