पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा ढकाल

पोखरा महानगरपालिकाले महानगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । मेयर मानबहादुर जिसीले प्रतिष्ठानमा कुलपति पद्यराज ढकालसहित ७ सदस्य बुधबार नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ ‘सरु’ र दिलीप गायक छन् । उपकुलपति र २ जना सदस्य चयन हुन बाँकी छ ।

पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८ गते ११ जनाको नाम प्रतिष्ठानका लागि सिफारिस गरेको थियो । समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र भरतराज पौडेल सदस्य थिए ।

प्रतिष्ठानमा २ जना कार्यपालिका सदस्यसमेत रहनेछन् । महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।

समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मिलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्यायको नाम सिफारिस गरेको थियो ।

गायक धनबहादुर गायकको निधन भएपछि उनका छोरा दिलीप प्रतिष्ठानमा सदस्य बनेका छन् । उनी पनि संगीतकर्मी हुन् । मानगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।

कुलपति ढकाल राष्ट्रिय जनसांस्कृतिक महासंघमा आवद्ध छन् । ‘सरु’ कवि तथा गीतकार हुन् । मिलन शेरचन जापानी चित्रकला हानानो ओसिनावा कलाकार हुन् । सिफारिस समितिले सिफारिस गरेकामध्ये सत्तारुढ नेकपा विभाजन भएपछि माओवादी केन्द्र निकटले नियुक्ति पाएका छैनन् । केन्द्रमा प्रतिष्ठानमा विपक्षीलाई पनि संलग्न गराउने चलन भए पनि पोखराको प्रज्ञा प्रतिष्ठान सत्ता पक्षका कलाकार, लेखकको मात्र भएको छ ।