पोखरामा दीप प्रज्वलन

प्रतिनिधिसभा पुनःस्र्थापना गर्ने सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै पोखरामा दीप प्रज्ज्वलन गरिएको छ ।

नेकपाको प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताले संसद् ब्युतिएको खुसीयालीमा पोखराको पृथ्वीचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नाराबाजी पनि गरेका छन् । सहभागीले नालायक प्रधानमन्त्री राजीनामा दे, प्रतिगामी होसियार, केपी–विद्याको पाराले, दुःख पाए साराले लगायतका नारा लगाएका थिए ।

नेकपा प्रचण्ड माधव पक्षका नेता धनराज आचार्यले फैसलालगत्तै खुसीयालीमा दीप प्रज्ज्वलन गरिएको बताए । उनले राजनीति नयाँ मार्गमा अघि बढेकाले अब पार्टी सरकार र समग्र देशकै नेतृत्व गर्ने गरी काम गर्ने उनले बताए ।

नेपाली कांग्रेस र प्रचण्ड माधव समूहका कार्यकर्ताले पोखरा १७ को महतगौडामा पनि दीप प्रज्वलन गरेका छन् । प्रचण्ड माधव निकट अनेरास्ववियुले पनि पृथ्वीनारायण क्याम्पसअघि बगरमा दीप प्रज्वलन गरेको छ ।