कविता : प्रिय वर्षात्

केहि यस्तो समय, तिमीलाइ लिएर आयो
मलाइ लिएर आयो
त्यो हुनुमा तिमी थियौ र म आए
म थिए र तिमी आयौ !
यसको अर्थ म बाट तिमी बन्नु ,तिमी बाट म बन्नु !

यसलाइ न कुनै सजीवतामा नाप्न सकिन्थ्यो !
न कुनै अजीवतामा कलम गर्न सकिन्थ्यो !

र केहि यस्तै समय
हामीले पानीका रंगहरुभित्र लेख्यौं !
………………!

तिमी आउनु र म आउनु !
सायद अन्देखा समय जस्तै !
यो भन्दा पर स्वर्गको द्दारपर रवाना हुनु जस्तै !
यि कसरी भए , किन भए न तिमीले जान्यौ न मैले जाने !
जसै कि तिमी आउनु म आउनु अघि र तिमी जानु म जानु पछिका रहस्यहरु, जन्म र मृत्युका रहस्यहरु सायदै लेखिएनन् !
जसै की पानीका रंगको रहस्य कहिं लेखिएलान् !

र पनि केहि धेरै कुरा
हामीले लेख्यौं पानीका रंगहरुभित्र !

…………!

सायद यस भेटहरुका उनका परीभाषाहरु बेग्लै हुन सक्छन्
हाम्रा परीभाषाहरु एकै, या बेग्लै !
जसै कि यि मायिकता ,आकस्मिकताहरु सिमीत नहुन सक्छन् !

यसरी नै तिमी आउनु म आउनु !
यसलाइ न चित्र बनाउन सकिन्थ्यो न चित्रीत गर्न !

र पनि धेरै कुरा
हामीले लेख्यौं पानीका रंगहरुभित्र !