लघुकथा- बोली र व्यवहार

दुर्घटनामा परेर निधन भएको साथीको जलिरहेको लास हेरेर भावुक हुँदै उसले भन्यो, “जिन्दगी केही छैन, तेरो मेरो भन्नु बेकार छ।”

घाटबाट माथि उक्लने बेला उ फोनमा कसैसँग लेनदेनको विषयमा झगडा गर्दैथियो।
माथि सडकमा थुप्रै मोटरसाइकलहरु थिए, उसको हेल्मेट निकै पुरानो रहेछ, यताउति नजर घुमायो अनि एउटा बाइकमा भएको नयाँ हेल्मेट तान्यो र आफ्नो पूरानो हेल्मेट त्यही बाइकमा राखेर मतिर हेरेर मुसुक्क हाँस्दै गयो।

म अघि भर्खरै घाटमा उसले बोलेका कुराहरु सम्झदै आँखाले देखुन्जेल उसलाई हेरिरहें।