कविता : टाउको फ्राइ

मन लाग्यो शासकलाई
टाउको फ्राई खान
अह्रायो उसले सिपाहीलाई–
लिएर आओ एउटा टाउको
खाइसकेको थियो उसले
बँदेलको टाउको
गोरुको टाउको
सुँगुरको टाउको
गैंडा र हात्तिको टाउको
यसपटक शासकलाई
खान मन लागको छ
मानिसको टाउको
जब टाउको फ्राई गरेर
ल्याए सिपाहीले
सबैभन्दा पहिले उसले
चक्कुले खोपडी खोलेर
चम्चाले खायो गिदी
खुब मिठो लाग्यो उसलाई
त्यसपछि टोकिदियो दुबै कान
त्यसपछि जिभ्रो
अनि आँखा
अनि गालाको छाला
अन्तिममा ब्लड सेक
खुब मिठो लाग्यो शासकलाई
मानिसको टाउको फ्राई
एक हुल मानिस
आफ्नो टाउको खोज्दै
गइरहेछन् राजधानीतिर ।