“बा” कमरेड, “काका” कमरेड र प्रतिगमन

नेपालको राजनीति आज १५ बर्ष पछि धकेलिएर २०६२ को सेरोफेरोमा फर्किएको छ । हिजो सम्म राजनीतिक क्रान्ति पुरा भयो भनि घोक्रो सुक्ने गरी कराउनेहरु आज फेरी त्यही थुतुनोले राजनीतिक रोईलो गरेको देख्दा उदेक लाग्दछ। विश्वमा कहिँ कतै नभएको र हुनै नसक्ने संसदीय दलाल पुजिवादबाट समाजवाद हुदै साम्यवादको सपना देखाएर आफ्नो जीविकोपार्जन गरेका “काका कमरेड” हरुको खेतमा अर्को “बा कमरेड” ले प्रतिगमनको सानो झोक्काले तुषरापात गरेको छ।

दसबर्षे महान जनयुद्दको राप र तापले नेपाली राजनीतिमा निरंकुस राजतन्त्रलाई रछ्यानमा फाल्यो र जनताको चेतनाको स्तर र मुक्तिको आवाजलाई समेत बुलन्द गर्यो। तल्कालिन बिद्रोही माओवादी र संसदीय सातभाई बीच २०६२ माघमा भएको १२ बुंदे सहमति पछिको आन्दोलनले निरंकुस राजतन्त्रको अन्त्य त् गर्यो तर छोटे राजा रजौटाहरुको ब्यबहारमा क्रमसः राजतन्त्रको काचो वायुले स्थान पायो। आज बा कामरेडले जे गरेका छन् त्यो सबै राजतन्त्रको भूतको सक्कली रुप हो। यो सक्कलीरुप हो भनेर बा कमरेड्का वकिलहरुले नै सर्बोच्च अदालतमा दलिल पेश गरेका छन्।
२०६५ जेठ १५ मा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा पछि राजतन्त्रको अन्त्य बाहेक के त्यस्तो आमुल परिवर्तन भयो जसबाट भुईवर्गका जनताको जिवनमा सहजता भयो? हुन् त् समाबेशी, समानुपातिक, संघियता, धर्म निरपेक्षता जस्ता राजनीतिक उपलब्धि भए होलान तर समाबेशी, समानुपातिक संघियता जस्ता उपलब्धिहरु एउटा भुईमाञ्छेले न पकाएर खान मिल्दछ, न भुटुन बनाउन मिल्दछ र न यी शब्दले जाडोनै छेक्दछ्न। आम नागरिकको जीवनमा अपबाद बाहेक यी सबै शब्द मात्रामा समित छन्।

तत्कालिन माओवादी र सात संसदीय दलहरु बिचको समजदारी र अहिलेको बा कामरेडको प्रतिगमन र प्रतिगमन बिरोधि आन्दोलनको माग बीच के कति समानता र अन्तर छ? के अहिलेको “प्रतिगमन” सच्चियो भने राम-राज्य स्थापना होला? के किनारा पारिएका जनताको जीवन मर्यादित हुने छ? सहिद र बेपत्ता परिवारले न्याय पाउलान? के घाईतेहरुले उपचार पाउलान?

• बाह्र बुंदे समझदारीमा निरंकुस राजतन्त्रको अन्त्य “पुर्ण लोकतन्त्र” को स्थापनाको लागि भएको थियो र आझ फेरी पूर्ण लोकतन्त्रमा ओलितन्त्रको अन्त्य र “पूर्ण लोकतन्त्रको” पुनर्बहाली आन्दोलनको माग भएको छ। ओलीको कदमको अगाडिको लोकतन्त्रले (पुष ५ अगाडिको अवस्थाले) जन-जिविका सवालमा के नै लछारपाटो लगाएको थियो? एउटै कामबाट फरक नतिजाको आशा गर्नु र बकैनाको रुख रोपेर र रुद्राक्षको अपेक्षा गर्न सकिन्छ?

• बाह्र बुंदे समझदारीमा आन्दोलनको शक्तिले संसदको पुनर्स्थापना गर्ने र अहिले पनि संसद पुर्नस्थापित गर्ने प्रमुख मुद्दा बनेको छ। हो संसद पुनर्स्थापित भएमा संसद्को जागिर जोगिने छ र आफ्नो चुनावी लगानी उठाउने मौका मिल्ने छ। हिजो (पुष ५ अगाडि) झन्डै दुई-तिहाईको बहुमत हुदा त् जनताको लागि माखो सम्म मार्न नसक्ने, मुखियाको हुकुम तामेली गर्ने “माननीयहरु” बाट फरक त् थप अपेक्षा गर्न सकिन्छ?

• बाह्र बुंदे समझदारीमा शान्तिपूर्ण नयाँ राजनैतिक धारमा अघि बढ्न तत्कालिन ने.क.पा. -माओवादी प्रतिवद्धता व्यक्त गरेको छ र अहिले पनि पटक पटक आफु शान्तिपूर्ण बाटोमा रहेको कसम खादै छ। “कम्युनिष्ट’ शब्द छोड्न पनि नसक्ने र कम्युनिष्टको न्युनतम मान्यता पनि अगाल्न नसक्ने रकमी कुरा गर्दछ। आफ्नै सहोदर दाजु -भाईहरुलाई प्रतिबन्ध लगाई कस्तो र कस्को स्थाई शान्तिको लागि राजनीति हो?

प्रधानमन्त्री ओलीबाट संसदीय ब्यबस्था र संबिधानको बर्खिलापमा काम गरेका छन्। प्रतिनिधि सभा बिघटनबाट सुरु गरेको प्रतिगामी कदमको यो सुरुवात मात्रै हो। अझै उनको बल बुताले भ्याए सम्म गर्न सक्ने (गर्न हुने वा नहुने उनको सरोकार छैन) गर्दछन/ “बा कामरेडको” प्रतिगमनकारी कदमले “काका कामरेडले” अहिले जनता, पूर्व जनमुक्ति सेना, घाईते र बेपत्ता परिवार सम्झन थालेका छन्। यो सकारात्मक पक्ष हो। फेरी पनि जनता सत्तामा जाने भर्याङ्ग मात्र नहुने ग्यारेन्टी के छ? त्यो बयलगाडावाला ओलीलाई प्रतिगमनकारी ओली कसले बनायो? बयलगाडाबाट देशको प्रमुख कार्यकारी बनाएर दिन- दिनै धुप पूजा र फन्को मारी आरति कसले उत्यार्यो?

प्रतिगमन बिरुद्द आन्दोलित हुदै गर्दा बिगतमा भएका गल्तिहरुको प्राश्चियत र नदोहोरिने ग्यारेन्टी गरिनु पर्दछ । भुई मानिसका मुद्दाहरु चुनावी नाराहरु मात्र बनाईने परिपाटीको अन्त्य हुन्छ कि हुदैन? हुन्छ भने कसरी हुन्छ? त्यसको विश्वासनियता को कसी के हो? बयलगाडाको ठाउमा साच्चै ठेलागाडाबाट जीविकोपार्जन गर्ने नेपालीले सत्तामा पहुच र नियत्रण हुन्छ कि हुदैन? हुन्छ भने त्यसको लागि मार्ग चित्र के हो? सत्तामा हाली मुहाली गर्नेहरुको अकुत सम्पति कहाँ बाट आयो? के नेतृत्वको सम्पति निस्पक्ष छानविन गर्न तयार छौ?

यी र यस्ता प्रश्नहरु जनता सामु उत्तरित हुनु पर्दछ । आउनुहोस देखिने र छद्म प्रतिगमन बिरुद्द डटेर प्रश्न गरौ । यी र यस्तै प्रश्नहरुको सकारात्मक र विश्वासनीय उत्तरहरुको खोजि गरौ र सबै खाले प्रतिगमन बिरुद्द खरो उत्रिऔ।