डाक्टरको परामर्श शुल्कमा भारी वृद्धि, स्वास्थ्य मन्त्रालय मौन

नेपाल चिकित्सक संघ (एनएमए) र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले चिकित्सकको नयाँ परामर्श शुल्क लागु गर्न निर्देशन दिएका छन् ।

बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै २ संस्थाले एक्कासि चर्काे शुल्कवृद्धि गरेका हुन् । फागुन ४ गते बसेको एनएमए र अफिनको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

राष्ट्र बैकको मुद्रास्फीतिलाई आधार मानेर चिकित्सकको नयाँ परामर्श शुल्क निर्धारण गरिएको दाबी गरिएको छ । यो शुल्कलाई बुधबारबाटै लागु हुने विज्ञप्तिमा उल्लेख छ ।
चिकित्सकको योग्यता र अनुभवका आधारमा शुल्क निर्धारण गरिएको छ । पाँच वर्षसम्म अनुभव भएकोलाई ३७० रुपैयाँ र ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सकको परामर्श शुल्क ४५० रुपैयाँ तोकिएको छ । त्यसैगरी १० वर्षसम्म अनुभव भएका चिकित्सकको परामर्श शुल्क ८२५ रुपैयाँ रहने छ ।

एक वर्षअघि चिकित्सक नयाँ परामर्श शुल्क सिफारिस समिति गठन भएको थियो । उक्त समितिले चिकित्सकको नयाँ परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो । तर, उक्त नयाँ शुल्क सम्बन्धि सिफारिस मन्त्रालयमा बुझाएको एक वर्षसम्म पनि समयसापेक्ष लागु नभएको भन्दैं चिकित्सकसँग सम्बन्धित संस्था एनएमए र निजी अस्पतालको छाता संगठन अफिनले लागु गर्ने निर्णय गरेका हुन् ।

यस्तै, निजी क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अफिसरको तलब न्यूनतम ४२ हजार रुपैयाँ पु¥याउने निर्णय पनि दुवै संस्थाले गरेका छन् । उनीहरुले कार्यन्वयन गराउन सबै चिकित्सक, स्वास्थ्य संस्था र अस्पतालाई अनुरोध गरेका छन् ।