हाम्रो रचनात्मक गार्मेन्टमा कल्पना

- वडा सदस्य अञ्जुसहित सम्मानित

हाम्रो रचनात्मक गार्मेन्टको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कल्पना क्षेत्री भुवाजीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । गार्मेन्टको उपाध्यक्षमा अञ्जली खत्री, सचिव इन्दिरा पराजुली, कोषाध्यक्ष लक्ष्मी केसी, सहसचिव सावित्री कोइराला र सहकोषाध्यक्षमा मिरा केसी छन् ।

गार्मेन्टका सदस्यमा विमला आचार्य, सोनिला कार्की, मिरा पराजुली, लक्ष्मी पराजुली, उषा थापा (पार्वती), जानुका थापा, मिरा गौतम, तारा जमरकट्टेल, मिना मल्ल छन् । निवर्तमान अध्यक्ष राधिका आचार्य अधिकारी पदेन सदस्य छिन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाको सीप र क्षमतालाई उत्पादनसँग जोड्नुपर्ने बताइन् । उनले आर्थिक रुपमा आत्मनिर्भर भएमात्र महिला सशक्तीकरण सम्भव हुने उनले औंल्याइन् ।

महिलाको भएको सीप र क्षमतालाई उत्पादनसँग जोडदै आर्थिक रुपमा सबल र सक्षम बनाउन पोखरा महानगरले उपप्रमुखसँग महिला कार्यक्रम ल्याएको उनले बताइन् । रचनात्मक गार्मेन्टले महिलालाई रोजगारी र आत्मनिर्भर बनाउन भूमिका खेलेको उनको भनाइ छ ।

पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले समृद्ध नेपाल र सुखी नेपालीको अवधारणा बमोजिम वडा कार्यालय अघि बढिरहेको बताए । उनले आफ्नो कार्यकालमा जनतामा मुख्य आवश्यकता परिपूर्तिसहित योजनावद्ध विकासको जग राखिएको बताए ।

वडा सदस्य अञ्जु क्षेत्रीले विकासको मूल प्रवाहमा आउन महिला उत्पादनसँग जोडिनुपर्ने विचा राखिन् । वडा कार्यालयको आर्थिक सहयोगमा गार्मेन्ट सञ्चालन गरी महिलालाई उद्यमी र स्वरोजगार बनाउने प्रयत्न गरिएको उनको भनाइ छ । सदस्य केसीले कोरोना कहरका बेला पनि सुरक्षा सामग्री उत्पादन गरी गार्मेन्टले व्यवसायसहित उत्तरदायित्व निर्वाह गरेको उल्लेख गरिन् ।

गार्मेन्टका अध्यक्ष राधिका आचार्य अधिकारीले वडा कार्यालयको २ लाख र ३२ महिलाको प्रतिव्यक्ति ५ हजारबाट गार्मेन्ट सञ्चालन गरेको जानकारी दिइन् । ५ लाख २१ हजार लगानी गरी २ वर्षमा १ लाख ८२ हजार नाफा भएको उनको भनाइ छ ।

कार्यक्रममा गार्मेन्टको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा वडा सदस्य एवं गार्मेन्टका संरक्षक अञ्जु केसीलाई सम्मान गरियो । मिना मल्ल, विमला आचार्य, सोनिला कार्की र अञ्जली खत्रीलाई पनि गार्मेन्टले सम्मान गरेको छ । कार्यक्रममा वडा सदस्यहरु उज्ज्वल खत्री र हरिमाया विक, गायत्री भूत्र्याल, खेमराज क्षेत्री, विमला मुल्मी लगायतले बोलेका थिए ।