भूमीहीनका समस्या सुल्झाउन तथ्यांक संकलन

पोखरा महानगरपालिका वडा नं. १७ मा भूमीहीन र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन सुरु भएको छ ।

पोखरा १७ नमुना टोलमा बिहीबारबाट तथ्यांक संकलन थालिएको हो । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले भूमीहीन र अव्यवस्थित बसोबासीलाईलाई फारम दिएर औपचारिक रुपमा कार्य सुरुआत गरे । चुनावमा गरेका प्रतिवद्धता बमोजिम भूमिहीनका समस्या समाधान गर्ने क्रममा आइपुगेको अधिकारी बताए ।

सरकारले हालै भूमिसम्बन्धी समस्या समाधान आयोगका लागि सबै जिल्लामा पदाधिकारी नियुक्ति गरेको छ । भूमिहीनलाई रातो र अव्यवस्थित बसोबासीलाई सेतो फारम भराइनेछ ।

कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान आयोग पोखरा महानगर पालिका इकाइ प्रमुख शिवहरि शर्मा, नेकपा पोखरा १७ का अध्यक्ष सुवास ढुंगाना, वडा सदस्या तारा सेवा लगायतले बोलेका थिए ।

पोखरा १७ मा वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा आयोगको वडा स्तरीय समिति बनेको छ । सदस्यमा वडा सदस्यहरु राधिका शाही योगी, बैकुण्ठ भण्डारी, तारा सेवा, शान्तकुमारी गुरुङ र नगेन्द्र गुरुङ र देवी तिमिल्सिना छन् ।