तानाशाह १
आउन त आयो
छोराछोरीहरुका लागि प्रतिगमन
साख्यै बा भएर
कुनै बेला अंशबण्डा नमिल्दा
सौतेनी बा भएर पनि आउन सक्छ
आउन सक्छ झड्केलो बा भएर पनि
त्यति बेला
फेरि उनीहरुले नारा लगाउने छन्
प्रतिगमन बा मुर्दावाद भनेर
तानाशाह बा मुर्दावाद भनेर ।
तानाशाह २
उनीहरु भन्दै छन्
बालाई प्रतिगमन भन्नू हुँदैन
बालाई तानाशाह भन्नू हुँदैन
बाले
संविधानमा टिपेक्स लाए पनि
बाले
संविधानलाई इरेजरले मेटे पनि
बा
बा हुनै हुन्
बालाई अपमान गर्ने छुट कसैलाई छैन
तानाशाह ३
उनीहरु भन्दै छन्
लय हालेर
बा भनेकै संविधान हुन्
बा अगाडि
जाबो कागजको खोस्टो
कसरी संविधान हुन सक्छ




