हाइब्रिड कम्युनिष्ट, प्रतिगमन र आन्दोलन

खच्चडमा जसरी घोडा र गधाको स्वरुप देख्न सकिन्छ त्यसैगरी हाम्रा संसदिय कम्युनिष्ट पार्टीमा पनि नाम र दस्ताबेज हेर्दा कम्युनिष्ट जस्ता तर ब्यबहार र जीवन पद्दति बिचौलिया दलाल र टोले गुण्डा जस्ता देखिन्छन। त्यसैले अहिले नेपाली बजारमा भएका चलन चल्तीका कम्युनिष्ट पार्टीहरुलाई सभ्य भाषामा “हाईव्रिड” र बोलचालको भाषामा “खच्चड” कम्युनिष्ट भन्न सकिन्छ । यी पार्टीका मुखियाहरु आफु चाहि बिडी तान्दै फुस्स फुस्स धुवा फाल्दै आफ्ना सन्तानलाई बिडी सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक छ भनि उपदेश दिने गर्दछन ।

तिनीहरुले आफ्ना भाषण र दस्ताबेजमा प्रयोग गर्ने शब्दहरु पनि रुपान्तरण हुदै गएका छन्। पहिले पहिले एकले अर्कोलाई आलोचना गर्दा अवसरवादी, संसोधनवादी, यथास्थितिवादी, जडसुत्रवादी, लिम्पियाओवादी, लम्पसारवादी, दलाल पुजिवादी, दक्षिणपन्थी, बुर्जुवा, नव उदारवादी, लाल गद्दार जस्ता शब्दहरुको प्रयोग हुन्थ्यो। आजकल आलोचना हुदैन तर गालि गलौज गर्ने , श्राप दिने , धारे हात लगाउने गर्दछन । एक अर्कालाई धुर्त, फटाहा, लुच्चा, लोभी- पापी, छट्टु, टट्टु, हाडिघोप्टे, स्वार्थि, ढोगी, भोगी, दुराचारी, भष्ट्राचारी, भाते, असत्ती, कामचोर, जाली, फटाहा, भूडिफोर, पानीगुण्डो, मुसुमुन्द्रे, गजडी, पानीमरुवा, डाँका, भतुवा, सन्की, अनिकाले, अलछिनी, घनटाउके, ढटुवा, , दुइजिब्रे, घोप्टे, कपटी, संहारे, काइते, लोभी, चण्डाल, गफाडी, लठ्ठक, बज्रस्वाठ, पाजी, भातमारा, ज्यानमारा, भाइमारा, उल्लु, वेबकुफ, मुर्ख, अधमखोर, लुच्चो, सघारे जस्ता शब्दको प्रयोग भएको पाईन्छ र कुनै राजनीतिक शब्द हुदैन । पहिले पहिले बोल्दा वा लेख्दा मार्क्स, लेनिन वा माओका भनाईलाई सन्दर्भ दिन्थे तर आजकल आफै तन्त्र-मन्त्र, टुना-मुना र काला जादुले निपूर्ण भएका, मार्क्सवाद, लेनिनवाद र माओका राता किताव छोडेर त्यसको सट्टा पहेलो टालोमा बाधिएका ईन्द्रजाल, स्वस्थानी कथा, हनुमान चालिसा, गरुड पुराण जस्ता किताव पढन थाले जस्तो देखिन्छ ।

आफुलाई “कम्युनिष्ट पार्टी” को पछ्यौराले लपेटेका पार्टीहरु के सच्चा कम्युनिष्ट हुन् वा कम्युनिष्टको नाममा खेति गर्ने र आफ्नो भकारी भर्ने जमिन्दार हुन जनताले थाहा पाउनु पर्दछ । त्यसको लागि सर्वप्रथम कम्युनिष्ट हुन वा होईनन प्रष्ट हुनु जरूरी छ । “कम्युनिष्ट” भनेको कम्युनिजमको अनुयायी हो । कम्युनिजम एउटा यस्तो राजनीतिक र आर्थिक पद्दति हो जसले वर्ग रहित समाजको सृजना गरी उत्पादनका साधनहरुको सार्वजनिक स्वामित्व र नियन्त्रण गर्दछ र आवस्यकताको आधारमा सबैलाई उपलब्ध गराउदछ। यसले सबैलाई समानताको आधारमा ब्यबहार गर्दछ र कम्युनिजमले निजी सम्पति हुनु हुदैन भन्ने सिद्दान्त वकालत गर्दछ/आफुलाई सर्वहाराकरण गर्नु पार्टी सदस्यको आदर्श हो । कम्युनिजममा बिश्वास गर्नेहरु अलौकिक दैवी शक्तिमा हैन भौतिकवादी हुन्छन। सबै किसिमको लिङ्ग र वर्ग विभेदको बिरुद्दमा हुन्छन र गरिव मजदुर, किसान, श्रमजीवि र सर्वहाराको अधिनायकत्व स्थापनार्थ क्रियाशील हुन्छन । कम्युनिष्टहरु बल प्रयोगको माध्यमलाई स्वीकार गर्दछन।

के नेपालका संसदीय कम्युनिष्टहरु कम्युनिष्ट दर्शन, आदर्श र राजनीतिले पछाडी पारिएको वर्ग र पक्षको हितमा छन् वा व्यक्ति वा समुह केन्द्रित स्वार्थमा जनतालाई उल्लु बनाई रहेका छन्? कम्युनिष्टको नाममा मन्त्रि वा प्रधानमन्त्री “खान” वा कुनै राजनीतिक नियुक्ति “खान” बाहेक कुनै उदेश्य छैन। “खाने ” उदेश्यले जानेहरुबाट खाने बाहेक अरु के नै अपेक्षा गर्नु?

खाने कम्युनिष्ट भित्र पनि अब अर्को नया कम्युनिष्टको नश्ल बिकास भएको छ त्यो हो सरकारी “प्रतिगमनकारी कम्युनिष्ट” र त्यसको नेतृत्वमा छन् सरकारी महा-मठाधिस । आज भोलि यिनी रुद्री पुजामा गरुड पुराण सुनाउदै हिडेका छन् । यिनको कर्म देख्दा लाग्दछ रत्नपार्कमा चटक देखाउदै छन र दर्शकलाई गत बर्षको म्याद सकिएको क्यालेण्डर बिक्रि गर्दैछन ।

आफुलाई सर्वज्ञानी,अलौकिक अवतारी र मदन भण्डारीको जबज लाई अठ्ठारौ सताब्दीको राजाको जेठो छोरो हु झैँ गरी आफुले आफैलाई उत्तराधिकारी ठानेका छन्। सुस्त:मनस्थिति भएकाहरुले पढदा समेत प्रस्ट हुने संबिधानको अपब्याख्या गर्दै “लोकतन्त्र” को मूल ठेकेदार ठान्दछन । के माथि परिभाषित गरिएको कम्युनिज्म संग यिनको कही कतै कुनै सम्वन्ध छ? यिनको कुनै सलीलमा कम्युनिष्टको साईनो देख्नु हुन्छ? डेटिङ्ग, सेटिङ्ग र खुचिङ्गको बैसाखीमा लतारिएर म्याराथुन जित्ने दुस्साहस सायद अन्यत्र कतै होला । अब त् हुदा हुदा “मुण्टिएको” लाई “सवारी भएको , “घिचेको ” लाई ज्यूनार गरेको, “तेर्सिएको” लाई शुक्ला भएको, “अलापेको” लाई हुकुम भएको जस्ता मानार्थ चाहिने टिमुर्केलाई नेता मान्ने तीनका समर्थक देख्दा उदेक लाग्दछ । अब कुनै दिन तिनै टपरट्युईयाको सम्मानमा अभिनन्दन गर्ने भन्दै झ्याईकुटी पार्दै गल्लि गल्ली लातारेको पनि देख्न पाईन्छ होला।

कुनै पनि व्यक्तिले आफुले छनौट गरेको राजनीतिक दर्शन मान्न वा नमान्न स्वतन्त्र छ तर आफुले छनौट गरेको राजनीतिक दर्शन, शिद्धान्त र त्यसको न्यूनतम मुल्य र मान्यता ब्यबहारत: गरिनु र देखिनु पर्दछ । सरकारी प्रतिगमनको बिरुद्दमा भजन गाएर, बीच सडकमा अग्लो र मुलायम सोफामा बसेर, बिन्तिपत्र हालेर परास्त गर्न सकिदैन । कम से कम सत्ता बाहिरका संसदीय कम्युनिष्ट हु भन्नेहरुले र प्रजातन्त्रको रटान लगाउनेहरु आफ्नो “लाईट हाउस” सत्ता र कुर्ची होईन जनतालाई केन्द्रबिन्दुमा राखेर आन्दोलनको लक्ष र त्यसले जनतामा ल्याउने सकारात्मक परिणामको किटानी साथ् सम्युक्त आन्दोलनको आधि बेरी सृजना गर्नु पर्दछ होईन भने “टिमुर्के” को सट्टामा “लोखर्के”आउने खेल बाहेक जनतालाई हात लाग्यो सुन्य हुने छ । यस्तै चाला रहेमा जनताको को त् कुरै छोडौ के.पी. ओलीको प्रमुख आथित्य र शेर बहादुर र कमल थापाहरु विशिष्ट वक्ताको रुपमा “जनयुद्द दिवस” मनाउने र प्रचण्डहरु छेउमा बसेर तालि पिट्ने दिन आउने छ ।