गणतन्त्र आउँदा रुँदै हिँड्नुभयो, अब हँसाउनुहोस् : प्रचण्ड

आफूले जनतालाई हँसाएकोमा कसैलाई पीर परेको भन्ने झटारो हानेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन्।

प्रचण्डले गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको टिप्पणी गरे ।
उनले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो बेला बयलगाडाको कथा हाल्दै हिँड्नुभयो। गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो।’

नेकपा दाहाल–नेपालनिकट राष्ट्रिय युवा संघको बैठक उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । संविधानको मूलमर्ममाथि प्रहार भएको बेला आफूहरु रमाइलो गर्न नसक्ने उनको भनाइ छ।

उनले ओलीले चुटकिला सुनाउँदै हिडेको बताए । प्रचण्डले भने, ‘संघर्षबाट प्राप्त उपलब्धिको हत्या भएको छ। मान्छे मरेपछि जो चिन्ता परेको छ, त्यो चिन्ताका बेला हाँस्न सकिँदैन। हामी मजाकको मुडमा छैनौं।’