जिल्ला सहकारी संघ कास्कीमा सावित्राको प्यानल विजयी

जिल्ला सहकारी संघ कास्कीको चुनावमा सत्तारुढ नेकपा फुटको असर देखिएको छ । चुनावमा ओली पक्षीय उम्मेदवारहरु हारेका छन् ।

चुनावमा ओली समूहको प्यानल र नेपाली काँग्रेस र प्रचण्ड माधव पक्षीय नेकपा गरी २ प्यानल थिए । संघको अध्यक्षमा सावित्रा कोइराला विजयी भइन् ।

संयुक्त प्यानलबाट उम्मेदवार बनेकी उनले १९८ मत प्राप्त गर्दा ओली पक्षीय उम्मेदवार बलराम गौतमले ७८ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का उम्मेदवार धर्मराज अर्यालले ३६ मत पाए ।

चुनावमा राष्ट्रिय प्रतिनिधिको उम्मेदवार बनेकी नेकपा ओली पक्षीय नेता तथा प्रदेश सांसद प्रभा कोइराला पराजित भइन् । दीपक प्रकाश आचार्य २१४ मत पाएका विजयी हुँदा कोइरालाले ८६ मत मात्रै प्राप्त गरिन् ।

अरु सबै पदमा पनि संयुक्त प्यानलका उम्मेदवारहरु विजयी भए । वरिष्ठ उपाध्यक्षमा संयुक्त प्यानलका छविलाल लामेछाने २२२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्धन्द्धी उमराज बास्तोलाको ८१ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा अम्बिका गौतमले १९४ मत प्राप्त गरी विजयी हुँदा संगीता तिमिल्सिनाले ११२ मत पाइन् । महासचिवमा २२७ मत प्राप्त गरी दीपकराज बास्तोला विजयी हुँदा प्रतिस्पर्धी ठाकुर पोखरेलले ७९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा नवराज बरालले २०० मत पाएर जित्दा लक्ष्मण कोइरालाले १०३ मतमा चित्त बुझाए ।

विषयगत संघबाट आनन्द सुवेदी निर्विरोध भइन् । महिला सदस्यमा कौशिला गुरुङ २०६, चन्द्रकुमारी पराजुली, २१७, मैनादेवी रावत १९१, बिना लोहनी २४८ विजयी भएका छन् । खुल्ला सदस्यमा खेमबहादुर गुरुङ १८६, धनराज पुरी १६०, लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मबहादुर गुरुङ १८७, लेखा समिति सदस्यमा रमण पौडेल २०२, बिमला कुमारी थापा बस्नेत १८० विजयी भए ।