ओलीले नयाँ पार्टी खोल्नुपर्छ, नेकपा हाम्रो : करण

नेकपा पोखरा महानगरपालिका वडा नं. १७ मा नेकपाको प्रचण्ड माधव समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा शुक्रबार विरोध सभा गरेको छ । पार्टीको नीति बमोजिम महानगरका वडाहरुमा विरोधसभा गरिएको हो ।

कार्यक्रममा नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)ले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्नु गणतन्त्र, संघीयताको विरुद्धमा जानु भएको तर्क गरे । उनले जनमतको सबैभन्दा बढी दुरुपयोग ओलीले गरेको आरोप लगाए ।

अहिलेको परिस्थितिमा माफी माग्दै जनतामा जान उनले नेता, कार्यकर्तालाई आग्रह गरे । निर्वाचन आयोग र सर्वाेच्च अदालतले षड्यन्त्र गर्दै गरिरहेको जिकिर गर्दै उनले दिउँसै सपना नदेख्न चेतावनी दिए । सर्वाेच्चले प्रतिनिधिसभा विघटनलाई सदर गरे जनताले माफी नगर्ने बताए । उनले भने, ‘चोलेन्द्र र दिनेश थपलियालाई जनताले सडकमा तान्ने छन् । त्यो बेला उनीहरुलाई सहयोग गर्ने कोही हुने छैन ।’

अवसर र पदको लोभमा केही मान्छे ओली पक्षमा लागेको दाबी गर्दै उनले त्यो धेरै समय नटिक्ने बताए । गुरुङले भने, ‘बाटो बाटोमा केन्द्रीय सदस्य भनेको छ, पार्टी सकिएपछि कसले जिताउँछ ?’ ओली समूहले राजनीतिक दलको मान्यता नपाउने र नयाँ पार्टी खोल्नुपर्ने उनको भनाइ छ । उनले यो बेला कार्यकर्तालाई तटस्थ बस्ने नदिन र सोचिविचारी आउनेलाई सम्मान गर्न पनि आग्रह गरे ।

नेकपा गण्डकी सचिवालय सदस्य गंगा पोखरेलले जनताले असली कम्युनिस्ट र लाल गद्दारहरुलाई राम्ररी चिनेको बताए । उनले पोखरा १७ लाई अर्काे पक्षले लाल किल्ला दाबी गरे पनि त्यो सत्य नभएको दाबी गरे ।

सभामा वरिष्ठ अधिवक्ता तिलक आचार्य र अधिवक्ता वेदनाथ भण्डारीले अहिलेको संसद विघटनबारे कानुनी व्यवस्थाबारे प्रकाश पारेका थिए । उनीहरु संविधानले कल्पना नगरेको अवैधानिक काम प्रधानमन्त्रीले गरेको उल्लेख गर्दै सर्वाेच्च अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गरे ।

पोखरा १७ का विरोध कार्यक्रम संयोजक शिवराज आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर शैलीमा चलेको आरोप लगाए । उनले ओलीले सिंगो देश र जनताको संघर्षमाथि घात गरेको दाबी गरे ।

कार्यक्रममा नेकपा कास्की सचिवालय सदस्य ओम पौडेल, नेकपा कास्की आमन्त्रित सदस्य झपिन्द्रराज रेग्मी, प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पस अध्यक्ष प्राडा टंकराज अधिकारी, ज्येष्ठ नागरिक मञ्चका टोपराज ढुंगाना, अनेरास्ववियु पोखरा महानगर अध्यक्ष विशाल तामाङ, पोखरा १७ का सचिवालय सदस्य ढाकाराम ढकाल लगायतले बोलेका थिए ।