तिम्रा “बा” (व्यंङ्ग कविता )

प्याच्च प्याच्च थुक्दै हिडने
लखर लखर भुक्दै हिड्ने
उडन्ते गफमा आकास छुने
औतारिको रुपमा प्रस्तुत हुने
तिम्रा “बा” हेर कस्ता ?
हाडीको टाउको भएका बुख्याचा जस्ता।

किर्नो जस्तो टासीने
भिड देखे हौसिने
बिर्तावाल जस्तो मच्चिने
केरा दिदा बोक्रै खाइ दिने
तिम्रा “बा” हेर कस्ता?
तिजको ज्वाई र श्राद्दको सालो जस्ता।

सकुनिहरुसंग मज्जाले जम्ने
नव उर्वसीसंग ढुक्कले रम्ने
मध्य रातमा हुडारसंग गम्ने
लिदी गिदी एकै ठाउ मुछ्ने
तिम्रा “बा” हेर कस्ता?
टाउको भएर पनि मुर्कट्टा जस्ता।

अरिङ्गालको गोलामा बास बस्ने
ब्र्ह्माण्ड्को सर्व-ज्ञानी मै हु भन्ने
चारै तिर च्वास्स च्वास्स डस्ने
नजिकै बोलाएर घाटी कस्ने
तिम्रा “बा” हेर कस्ता?
लगौटीलाई टाई बनाई
जन्त हिडेका मलामी जस्ता।