एकता अभियानमार्फत कार्यकारी अध्यक्षको बार्गेनिङ

नेकपा एकता अभियान घोषणा गरेका नेकपा उपाध्यक्ष बामदेव गौतम ढिलोचाँडो ओली पक्षमै जाने स्रोतले जनाएको छ।

‘उहाँकी श्रीमती पनि हाम्रै पक्षको केन्द्रीय सदस्य हुन्छ, उहाँलाई कार्यकारी अध्यक्ष बनाऔं भन्ने हाम्रो जोड हो तर प्रधानमन्त्रीज्यू मानिरहनुभएको छैन,’ ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘त्यसैले धेरै सदस्य लिएर यतै आउने र कार्यकारी अध्यक्ष बन्ने सोचमा वामदेवजी हुनुहुन्छ, तत्काल एकता हुने कुरा बेकारका हुन् ।’

ओली नेतृत्वको नेकपाले पुष्पकमल दाहाललाई कार्यकारीबाट हटाए पनि अध्यक्षबाट भने हटाएको छैन । गौतम ओली नेतृत्वको नेकपामा अध्यक्ष बनेर जान सक्ने सम्भावना रहेको उनका निकटस्थहरूको भनाइ छ ।

नेकपाका दुवै पक्ष गौतमलाई आफ्नो पक्षमा ल्याउन लागिपरेका छन् । गौतमसहितका नेताले २०५४ मा तत्कालीन एमाले फुटाएर माले बनाएका थिए । त्यतिखेर महाकाली सन्धिको विपक्षमा रहे पनि कालान्तरमा गौतमले त्यही मुद्दा छोडेका थिए । २०५६ को चुनावमा गौतम नेतृत्वको मालेले एक सिट पनि नजितेपछि उनीसहितको एउटा ठूलो हिस्सा एमालेमै फर्किएको थियो, उत्तिकै संख्याका कार्यकर्ता तत्कालीन भूमिगत पार्टी माओवादीमा लागेका थिए ।

त्यसपछि गौतमले बारम्बार कम्युनिस्ट पार्टी एक हुनुपर्ने आवाज उठाउँदै आएका थिए । व्यवहारतः नेकपा विभाजन भइसकेको छ । तर पार्टीका दुवै पक्षले विभाजनको औपचारिक निवेदन निर्वाचन आयोगमा दिइसकेका छैनन् । आजको कान्तिपुरमा खबर छ ।