संसद विघटनको विरोधमा साहित्यकार, कलाकार

पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

संगम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार भएको कार्यक्रममा साहित्यकार तथा कलाकारले आफ्ना कविता र गीतमार्फत् यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे ।

मञ्चका अध्यक्ष काजी गाउँलेले वैदेशिकसंसद् विघटन भएको भन्दै जनताका पक्षमा गीत र कवितामार्फत् खबरदारी गरिरहने उदघोष गरे । माक्र्सवादी चिन्तक रामराज रेग्मीले यसअघिका संविधानको तुलनामा २०७२ को संविधान प्रगतिशील रहेको बताउँदै यसलाई अपहरण गर्ने काम भएको धारणा राखे ।

ओलीको कदमलाई २०१७ मा राजा महेन्द्रले गरेका ‘कू’सँग तुलना गर्दै रेग्मीले २०४७ को संविधानलाई उत्कृष्ट संविधान भनेर प्रचारबाजी गर्नेहरु नै अहिलेको संविधान कुल्चनेहरु भएको बताए । हिजो क्रान्तिकारी भनिएकाहरु पनि आज ओलीको कदमलाई क्रान्तिकारी भनेर लाग्नुलाई उनले गलत कामको संज्ञा दिए । ‘व्यक्ति सधैँ उही रहँदैन, अमर रहने त विचार हो,’ उनले भने, ‘गलतलाई गलत र सहीलाई सही भन्न कम्तीमा पनि बौद्धिक वर्ग चुक्नु हुँदैन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता झलकपाणि तिवारीले सजग हुन नसके अनेकौं संघर्ष गरेर ल्याएका उपलब्धि गुम्ने खतरा औँल्याए । यो घटना नेपाली जनताको उपलब्धि अन्त्य गर्ने र नेपाललाई नयाँ ढंगले प्रतिगमनतिर लैजाने षड्यन्त्रका रुपमा आएको तिवारीको भनाइ छ ।

गण्डकी साहित्य संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कतिपय लेखक, कलाकार खाईपाई आएको सुविधा खोसिन्छ कि भनेर ओलीको कदमलाई समर्थन गरिरहेको बताए । राजनीतिक र व्यावहारिक दुवै दृष्टिबाट यो कदम औचित्यहीन भएको अधिकारीको तर्क थियो ।

कार्यक्रममा प्राडा शोभाकान्त लामिछानेले केपी ओलीलाई जुन संविधान र संसद्ले प्रधानमन्त्री बनायो, त्यसैमाथि ‘कू’ गर्नु आमाकै चिरहरण गरेको बताए । साहित्य शृखला पोखराका पूर्व अध्यक्ष यादवराज उपाध्यायले कवि, लेखक नै ढुलमुले भएर बसेको र अवसरको लोभमा गलतलाई सही भनेर हिँड्ने गरेको भन्दै भत्र्सना गरे ।

कार्यक्रममा काजी गाउँले, विकास लुंगेली, रोशन लामा, डिबी बान्तवा, खेम लामा, रेशम बिसी र रोशन गुरुङले सांगीतिक प्रस्तुति राखेका थिए भने सुरज उपाध्याय र छविलाल आचार्यले कविता सुनाएका थिए ।