प्रधानमन्त्रीलाई योगेशको आग्रह : गल्ती स्वीकारेर पार्टीमा आउनुस्

नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रतिनिधिसभा ३ महिनाभित्र पुनस्र्थापित हुने बताएका छन् । प्रचण्ड नेपाल पक्षको नेकपाले बिहीबार पोखरामा आयोजना गरेको जनवर्गीय संगठनको कार्यकर्ता भेलामा उनले संसद ब्युँतिन लामो समय नलाग्ने जनाए ।

२०१७ सालको संसद फर्काउन ३० वर्ष लागेको स्मरण गर्दै उनले अहिलेको प्रतिनिधिसभा ३ महिनामै फर्किने दाबी गरे । उनले प्रधानमन्त्री ओलीलाई गल्ती महसुस गरेर पार्टीमा फर्किन आग्रह गरे । नफर्किए ओली एक्लै पर्ने उनले उल्लेख गरे ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी व्यवस्था अनुसार सूर्य चुनावचिह्न आफूहरुलाई दिने उनको भनाइ छ ।

भट्टराइले ओलीलाई भारतीय नेतृ इन्दिरा गान्धीको जस्तै उन्माद चढेको आरोप लगाए । ‘इन्दिराले संसद विघटन गरिन् । त्यसपछि उनको पत्तासाफ भयो,’ नेता भट्टराईले भने, ‘ओलीको पनि त्यही हुनेवाला छ ।’ एकलौटी निर्णय गर्ने प्रधानमन्त्रीले सरकारलाई काम गर्न नदिएको भन्नु सरासर गलत भएको उनको भनाइ छ ।

कुनै विषयमा विवाद भए पनि त्यसको विकल्प संसद विघटन नभएको उनले उल्लेख गरे । ओलीले लोकतन्त्रमाथि आक्रमण गरेको भट्टराईले आरोप लगाए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल सुनिल, केन्द्रीय सदस्य सीता गिरी ओली, चूडामणि जंगली लगायतले बोलेका थिए ।