अमेरिकी संसद भवनमा आक्रमण, एक जनाको मृत्यु

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकले संसद भवनभित्र छिरेका आक्रमण गरेका हुन् ।

उनीहरूले ट्रम्प नै विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए। ट्रम्पका समर्थक अन्धाधुन्ध आक्रमणमा उत्रिएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । घटनामा १ महिलाको मृत्यु भएको छ ।

प्रहरीले १३ जनालाई हिरासतमा लिइएको जनाएको छ। केही प्रदर्शनकारीहरू पर्खालबाट सिनेट चेम्बरभित्र पनि पुगेका थिए। राष्ट्रपति ट्रम्पले केही समयपछि भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई ‘पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गरेका छन् ।

उनले भने, ‘यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेराबन्दीलाई समाप्त पार्ने माग गरुन्।’