तीर्थ गुरुङको ‘आपा क्हार्प’ बजारमा

साहित्यकार तीर्थ गुरुङको आपा क्हार्प बजारमा आएको छ । बुक हिल पब्लिकेसनले प्रकाशन गरेको कथा सञ्चयन सोमबार पोखरामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

साहित्यकारहरु तीर्थ श्रेष्ठ र रोशन शेरचन, बुक हिलका प्रबन्ध निर्देशक भूपेन्द्र खड्का र आयोजक गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमुले कृति सार्वजनिक गरे । यसअघि पाठशाला उपन्यासबाट चर्चित भएका तीर्थको यो दोस्रो कृति हो । यसमा १५ कथा छन् ।

साहित्यकार तीर्थ श्रेष्ठले साहित्यमा समाज जस्तै विविधता जरुरी भएको बताए । उनले भने, ‘नेपाली समाजजस्तै विविधतापूर्ण साहित्य अहिलेको आवश्यकता हो । जसको समाज हो, उसैले चित्रण गर्दा त्यसको चित्रण सजीव र यथार्थपरक बन्छ ।’ उनले यो कृतिले गुरुङलाई प्रभावशाली आख्यानकारका रुपमा दरिलोसँग स्थापित गरेको बताए ।

साहित्यकार सरस्वती प्रतीक्षाले तीर्थलाई अटूट बगिरहने नदीसँग तुलना गरिन् । उनले कवि हुँदै आख्यानकारसम्मको उनको यात्रा परिपक्व, परिष्कृत र प्रभावशाली बन्दै गएको उल्लेख गरिन् । कथा सञ्चयनको समीक्षा गर्दै गनेस पौडेल र कुमारी लामाले गुरुङ समुदायको मौलिक पहिचानसहित आएको संग्रह पठनीय र संग्रहनीय भएको उल्लेख गरे ।

कथाकार तीर्थले पुस्तक प्रकाशनपछि पाउने प्रतिक्रियाले आफ्नो साहित्यिक यात्रा परिष्कृत हुँदै जाने बताए । कार्यक्रममा २०४६ सालमा कथाकार गुरुङसँगै एसएलसी दिएका साथीहरुले उनलाई बधाई ज्ञापन गरेका थिए । उनीहरुले गुरुङलाई आर्थिक सहयोगसमेत गरे ।

मञ्चका अध्यक्ष गौरी तमुले संस्थाले हरेक ल्होसारमा सिर्जनात्मक कार्यक्रम गर्दै आएको स्मरण गरिन् । उनले भनिन्, ‘हामी भोजभतेर भन्दा सिर्जनात्मक कार्यक्रम गर्दै आएका छौं । गुरुङ समुदायका घरमा अब सानो पुस्तकालय बन्नुपर्छ । हामी सबै क्षेत्रमा अघि बढ्नुपर्छ ।’

कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ, साहित्यकार रोशन शेरचन, चिउलीपाचे तमु समाजका अध्यक्ष शमशेर गुरुङ, आयोजक मञ्चका महासचिव रोशनी गुरुङ, तेजबहादुर गुरुङ लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।