सरकारविरुद्ध विप्लव, वैद्यसहित ४ दलको मोर्चाबन्दी

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन् ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले मोर्चाबन्दी गरेका हुन् ।

मंगलबार विज्ञप्ति निकालेर यी ४ दलले मोर्चाबन्दी गरी अगाडि बढ्ने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ ।’

मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने विज्ञप्तिमा जनाइएको छ ।